धमाधम विशिष्ट श्रेणीको दरबन्दी कटौतीमा, नेपाल ट्रष्टको दरबन्दी हटाउने तयारी, महानगर सहसचिव ज्ञवालीको जिम्मामा

khabarwave
२५ कार्तिक २०७७

काठमाडौं । निजामती प्रशासनको सर्वोच्च पद मानिने सचिव पदको संख्या धमाधम कटौतीमा पर्दै आएको छ । काठमाडौं महानगरपालिकाको विशिष्ट श्रेणी प्रमुख प्रशासकीय अधिकृतका रुपमा सचिव रहने गरेकोमा सो दरबन्दी काटेर सहसचिवस्तरको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने निर्णय गरेलगत्तै प्रशासन समूहबाट सचिव हुने एक पद  कटौतीमा परेको हो । सरकारको सो निर्णयसँगै महानगरमै कार्यरत सहसचिव राजेश्वर ज्ञवाली प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियुक्त भएका छन् ।

गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले सूचना आयोगको सचिव विशष्टि श्रेणी हुने प्रावधानलाई खारेज गर्दै प्रशासन समूहको सहसचिव प्रमुख हुने व्यवस्था गरेको छ । त्यहाँ कानुन समुहकाे सचिब रहने ब्यवस्था थियाे ।

गत हप्ता मात्रै सो आयोगका सचिव मणिराम ओझाले उमेरहदका कारण अवकाश पाएका थिए । उनको अवकाशसँगै सरकारले विशिष्ट श्रेणीको दरबन्दी कटौती गरेको हो । सरकारले प्राविधिक तर्फको विशिष्ट श्रेणीको दरबन्दी पनि कटौती गर्ने तयारी गरिरहेको बुझिएको छ ।

नेपाल ट्रष्टको प्रमुख प्रशासकीय अधिकृतमा प्राविधिकतर्फको सचिव रहने व्यवस्था रहेको छ । त्यसलाई पनि खारेज गरेर सहसचिवलाई नेतृत्व सुम्पने तयारी भइरहेको छ ।

अहिले सचिव देवेन्द्र कार्की ट्रष्टको कार्यकारी सचिवको रुपमा कार्यरत छन् । यसरी कानुनको १, प्रशासनको १ र प्राविधिक समूहको १ सचिव पद कटौती हुने भएपछि विशिष्ट श्रेणीको संख्या ६६ कायम रहनेछ ।

रिक्त सचिवहरुको पदपूर्ति गर्न बढु्वा सिफारिश समितिको बैठक बस्न सकिरहेको छैन । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रमा गरी तीन विशिष्ट श्रेणीको पद रिक्त भएको छ । तीमध्ये दुई प्राविधिक तर्फको दरबन्दी हो भने एक प्रशासन समूहको दरबन्दी हो ।

Loading spinner