कोरोनालाई देखाउँदै लोक सेवाले रोक्यो परीक्षा (सूचनासहित)
काठमाडौं । कोरोना संक्रमणको महामारीबीचमा परीक्षाको कार्यतालिका सार्वजनिक गरेको लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ ।
आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।
यसअघि आयोगले संक्रमित व्यक्ति र आइसोलेसनमा बसेका व्यक्तिलाई परीक्षामा सामेल हुने नदिने निर्णय गरेपछि सर्वोच्च अदालतले आयोगको सो निर्णय रद्द गरेपछि आयोगले एकाएक परीक्षा स्थगित गरेको हो ।
परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।