रक्षाबाट लखेटिएका उपप्रधानमन्त्री पोखरेल सरकारी वेभसाइडबाटै बेपत्ता

khabarwave
१ कार्तिक २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ११औं पटक पुनर्गठन गरेको मन्त्रिपरिषद्मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षाबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जिम्मेवारी हेरफेर गरियो ।

राष्ट्रपति कार्यालयले सोही सूचना असोज २८ गते नै सार्वजनिक गर्यो । २९ गते रक्षाबाट बिदा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गरेका उपप्रधानमन्त्री पोखरेलको हैसियत के हो भन्ने बारेमा उनी आफैं समेत जानकार छैन् ।

उनी मात्रै होइन उनको जिम्मेवारीका विषयमा कर्मचारीदेखि लिएर प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरु समेत अन्योलमा छन् । त्यही भएर होला पोखरेलको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेभसाइडमा उनको परिचयसहितको फोटो टाँसिन सकेको छैन । प्रधानमन्त्रीपछि उनको नाम र फोटो समावेश गरिनुपर्ने हो तर प्रधानमन्त्रीपछि सोझै मुख्यसचिव शंकरदास वैरागीको नाम र तस्बिर राखिएकाले ईश्वर पोखरेल कति अपमानित भएका छन् भन्ने कुरा स्वत पुष्टि हुन्छ ।

पोखरेकाले जिम्मेवारी आफ्नो काँधमा सारेका प्रधानमन्त्री केपी ओलीको फोटो रक्षा मन्त्रालयको वेभसाइडमा राखिसकिएको छ तर रक्षाबाट लखेटिएका पोखरेल कहाँ छन् भन्ने कुरा सरकारी वेभसाइडमा कतै भेटिएको छैन ।

त्यही दिन जिम्मेवारी सारेका पार्वत गुरुङ, नवनियुक्त मन्त्रीहरु अर्थमन्त्री विष्णु पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका मन्त्री लीला श्रेष्ठलाई सम्बन्धित मन्त्रालयले आफ्नो वेभसाइडमा मन्त्रीको रुपमा सार्वजनिक गरिसक्दा प्रधानमन्त्रीपछिको वरियतामा रहेका उप्रधानमन्त्री पोखरेल भने कतै अटाउन नसक्नुलाई आश्चर्यको रुपमा हेरिएको छ ।

Loading spinner