टेलिकमले ल्यायो अटम र फेस्टिभ अफर

khabarwave
३० आश्विन २०७७

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप तथा परिमार्जन गरी असोज २९ देखि ९० दिन लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ । यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ । पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएका छन् ।

साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको छ । अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ । यस अन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी रु ५५ मा यूट्युब र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुनेछ । यी अफर खरिद गरे पश्चात् सहुलियतस्वरुप रु। १५ मा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटाको एडअन प्याकसमेत खरिद गर्न सकिनेछ । यसअघि रु। ४० मा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब सोही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइनेछ । त्यसैगरी रु १५ मा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुनेछ ।

पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याक अन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएका छन् । त्यसैगरी राती १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत राखिएका छन् । यसअघि ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक रु। १५ मा ६० एमबी उपलब्ध गराइरहेकोमा अब १०० एमबी प्राप्त गर्न सकिनेछ । त्यसैगरी ‘थ्री डे डाटा प्याक’ रु। ६० मा ४०० एमबी उपलब्ध गराइरहेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिनेछ । वान डे डाटा प्याक अन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोल्युम पनि पहिले भन्दा बढी हुने भएको छ । यस अन्तर्गत रु १० मा ८० एमबी डाटा उपलब्ध भइरहेकोमा अब १२० एमबी र रु। १८ मा २५० एमबी डाटा उपलब्ध भइरहेकोमा अब सोही प्याकेज रु। १५ मा उपलब्ध हुनेछ ।

यता, फेस्टिभल अफरका रुपमा दशै/तिहार र छठ पर्वलाई समेत समेटी जिएसएम/सिडिएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइनेछ । यसमा रिचार्ज कार्डबाट रु ५० रिचार्ज वा एमपोसबाट रु २० देखि रु ५० सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुनेछ । रिचार्जकार्डबाट रु १०० वा एमपोसबाट रु ५१ देखि रु१०० रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ । रिचार्ज कार्डबाट रु २०० वा एमपोसबाट रु १०१ देखि रु २०० रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिनेछ । एमपोसबाट रु २०१ देखि रु ४९९ सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिनेछ ।

यसैगरी, रिचार्ज कार्डबाट रु ५०० वा एमपोसबाट रु ५०० देखि रु. ९९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुनेछ । साथै, रिचार्ज कार्डबाट रु १००० वा एमपोसबाट रु १००० हजार वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १०० मिनेट बोनस प्राप्त हुनेछ ।

Loading spinner