लोकसेवा आयोगकाे मापदण्डलाई सर्वोच्चकाे झट्का (आदेशसहित)

khabarwave
२९ आश्विन २०७७

काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ ।

आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनेको छ ।यसअघि लोक सेवा आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ल्याएको थियाे ।

मापदण्डमा परीक्षार्थीले आफू कोभिड–१९ संक्रमित भए नभएको स्वयं घोषणा गर्नुपर्ने तथा संक्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न नपाउने व्यवस्था गरेको थियाे ।

त्यसविरुद्ध परेको रिटमा बिहिबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले संक्रमित व्यक्ति परीक्षा दिनबाट बञ्चित हुँदा संविधान प्रदत्त पेशा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाको अधारमा विभेद विरुद्धको हक, छुवाछुत तथा भेदभावविरुद्धको हकसमेत उल्लंघन हुने ठहर गरेको छ ।

साथै आफू संक्रमित भएको स्वघोषणा गरी परीक्षा दिन नपाउने व्यवस्था गर्दा बहिस्करणमा पर्ने डरले संक्रमितले घोषणा नगर्ने र परीक्षामा सहभागी भएर अरु परीक्षार्थी, कर्मचारी र सम्पर्कमा आएका सबैलाई जोखिममा पुर्‍याउनसक्ने इजलासको ठहर छ ।

सर्वोच्चले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म लोकसेवा आयोगका परीक्षार्थीले कोरोना संक्रमणको स्वघोषणा गर्नुपर्ने र परीक्षामा सहभागी हुन नपाउने मापदण्ड कार्यान्वयन नगर्न भनेको छ ।

कोरोनाबाट सिर्जना हुन सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गरी आयोगबाट सञ्चालन हुने प्रतियोगिताका परीक्षालाई प्रभावकारी र व्यवस्थित सञ्चालन गर्न आयोगले यस्तो मापदण्ड बनाएको उल्लेख गरेको छ।आयोगले बुधबारदेखि नै सहसचिव, उपसचिव र कात्तिकमा शाखा अधिकृत लगायतको विज्ञापन गर्ने तयारीसहित यो मापदण्ड ल्याएको थियाे।

उक्त मापदण्डमा परीक्षार्थीमा कोरोना संक्रमण भएको भए परीक्षा केन्द्र प्रवेश गर्न नहुने उल्लेख छ।

’  ५ पेजमा समेटिएको उक्त मापदण्डमा ‘परीक्षार्थी कोरोना संक्रमण भए वा नभएको स्वयमले घोषणा गर्नु पर्नेछ। संक्रमित परीक्षार्थीले केन्द्रमा प्रवेश गर्न हुने छैन। मापदण्डमा स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने ,एक परीक्षा केन्द्रमा एक सय परीक्षार्थी राख्ने र एउटा कक्षामा बढीमा २५ जना परीक्षार्थी राख्ने गरी व्यवस्थापन गर्नुपर्ने,‘एक बेन्चमा एक जना परीक्षार्थी राख्ने र दुई परीक्षार्थी बीचको दूरी दुई मिटर हुने गरी व्यवस्थापन मिलाउने, लगायतको छ।

Loading spinner