किन गर्यो उत्तर कोरियाले मध्यराति सैन्य परेड ?

khabarwave
२५ आश्विन २०७७

बीबीसी। विश्वका सबैजसो मुलुक कोरोनासँज जुधिरहेको बेला उत्तर कोरियाले मध्यराति हतियारसहित सैन्य परेड देखाएको छ । शनिबार मध्य राति उत्तर कोरियाले भव्य सैन्य परेडको आयोजना गरेको हो।

जसमा देशका सर्वोच्च नेता किम जोङ उन सहभागी भएका थिए। परेडको आयोजना वर्कर्स पार्टीको ७५ औं वार्षिकउत्सवको अवसरमा गरिएको बीबीसीले जनाएको छ। सामान्य रुपमा नयाँ मिसाइल र हतियार प्रदर्शन गर्न उत्तर कोरियाले सैन्य परेडको आयोजना गर्ने गर्दछ। बीबीसीका अनुसार शनिबार रातिको सैन्य परेडको क्रममा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको प्रदर्शनलाई यसै विषयको पुष्टिका रुपमा हेरिएको छ।

कुनै पनि विदेशी संचारमाध्यम या विदेशी व्यक्तिलाई परेडमा सहभागी हुन प्रतिबन्ध थियो। यस्तो अवस्थामा परेडका बारेमा जानकारी पाउन उत्तर कोरिया सरकारद्वारा जारी तस्वीर र भिडियोमा निर्भर रहनुपर्ने अवस्था छ। उत्तर कोरियाले जारी गरेको तस्वीरका क्रममा किम जोङ उन ग्रे रंगको वेस्टर्न सुटमा देखिएका थिए। यो अवसरमा दिएको भाषणमा किम जोङ उनले भने, ‘आत्मरक्षा र आक्रमणलाई जवाफ दिन उत्तर कोरिया आफ्नो सेनालाई बलियो बनाउने छ।’

उनले अगाडि भने, ‘हामी भगवानलाई धन्यवाद दिन चाहन्छौं कि यो मुलुकमा कोरोना भाइरस संक्रमित छैनन्। विश्वका अन्य मुलुकमा यो घातक भाइरससँग लडिरहेका मानिसहरुको स्वस्थ जीवनको कामना गर्छु।’

उत्तर कोरियाको कोरोना भाइरस देशमा नभएको दाबीका बीच किम जोङ उन कोरोना नभएको पुष्टि गर्न लगातार उच्चस्तरीय बैठकको आयोजना गरिरहेका छन्। देशमा अहिले पनि कडा प्रतिबन्ध लगाइएको छ। विज्ञहरुले भने कोरोना भाइरसको एउटा पनि केश नभएको उत्तर कोरियाको दाबीलाई असंभव भन्छन्।

Loading spinner