कांग्रेस आक्रामक, कठोर आन्दोलनमा उत्रिएको घाेषणा

khabarwave
१६ आश्विन २०७७

काठमाण्डाै । प्रदेश ५ सरकारले स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव शुक्रबारको संसद वैठकमा पेश गरेको विरोधमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आन्दोलन सुरु गरेको छ ।

पार्टीका जिल्ला सभापति अब्दुल रज्जाकले शुक्रबार विज्ञप्ति जारी गर्दै कठोर आन्दोलनमा उत्रिएको उल्लेख गरेका छन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई अस्थायी राजधानी तोकेको भन्दै स्थायी राजधानी सार्न नदिन सडक र सदन तताउने उनले बताएका छन् । कांग्रेसका कार्यकर्ताहरुले बुटवल, मणिग्राम र सैनामैनामा सडकमा उत्रिएर विरोध जनाएका छन् । पार्टीका भातृ संगठनहरु तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।विज्ञप्तिमा नेकपाका केही नेताको स्वार्थमा रुपन्देहीवाट राजधानी सार्ने प्रयासको विरुद्ध पार्टीका आम कार्यकर्तादेखि रुपन्देही तथा छिमेकी जिल्लाका सर्वसाधारणहरुलाई आन्दोलनमा सहभागी हुन अपिल गरिएको छ । वहुसंख्यक जनताको केन्द्र, पूर्वाधारका हिसाबले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निर्णय प्रति कठोर आन्दोलन शुरु भएको कांग्रेसले जनाएको छ ।

प्रदेशसभाकाे शुक्रबारकाे बैठकमा कांग्रेस  सांसदहरु बैजनाथ कलवार, रमा अर्याल र फखरुद्दिन खानले कार्यसूचीको बारेमा जानकारी नदिई एकाएक प्रस्ताव आउनु आपत्तिजनक भएको भन्दै विरोध जनाएका थिए । सांसदहरुले कार्यसूची भन्दा बाहिरबाट छापामार शैलीमा छलफल विनै राजधानीको प्रस्ताव आउनु आपत्तिजनक भएको बताएका थिए ।

 

Loading spinner