एसिड आक्रमण गर्नेलाई कारबाही गर्न कडा कानुन बनाउन अध्यादेश ल्याउने मन्त्रिपरिषदकाे निर्णय,अध्यादेशमा जन्मकैदसम्मकाे प्रस्ताव
भदौ २५मा एसिड आक्रमणमा परेकाहरुसँग भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिवद्धता अनुसार नयाँ कानूनको मस्यौदा तयार पनि तयार भइरहेको छ ।नयाँ कानूनको मस्यौदामा एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय तोकिएको छ । आक्रमणबाट मुख्य अंगहरु आँखा, कान, मुख, छाती र यौनाङ्गमा क्षति भएमा २० वर्ष तथा अन्य अंगमा घाउचोट लागे १५ वर्षको कैद सजाय तोकिन लागेकाे स्राेतले जानकारी दिएकाे छ ।
२५ भदौमा एसिड आक्रमणमा परेकाहरुको पीडा सुनेपछि प्रधानमन्त्री ओलीले आक्रमण गर्नेहरुलाई कडा सजायदेखि पीडितको निःशुल्क उपचार गर्नेसम्म व्यवस्था गर्ने बताएका थिए । त्यसअनुसार मन्त्रिपरिषद्ले कानूनको मस्यौदा १५ दिनभित्र बनाउने निर्णय गरेको छ भने उपचारका लागि चार अस्पताल तोकेको थियाे । त्यसै अनुरूप बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमण सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हाे ।
सन् २०१८ मा बनेको फौजदारी संहितामा एसिड आक्रमण गर्नेलाई पचास हजारदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि आठ वर्षसम्म सजायको व्यवस्था थियो । फौजदारी संहितामा व्यवस्था गरिए अनुसार पीडकलाई जरिवाना गरिएको रकम पीडितलाई क्षतिपूर्ति बापत दिने व्यवस्था भएपनि सुस्त न्याय प्रणालीका कारण पीडितले उपचारका लागि तत्काल पैसा पाउन सकेका थिएनन् ।