स्वास्थ्य सेवा अवरुद्ध नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन
काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पताललाई कडा निर्देशन दिएको छ।
मन्त्रालयले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया तीव्र रूपमा अघि बढाइएको स्पष्ट पार्दै नागरिकको जीवनरक्षाका लागि उपचार सेवा नियमित सञ्चालन गर्न सबै पक्षलाई आग्रह गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा मंगलबार जारी विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। यस्ता घटनामा संलग्न व्यक्तिको पहिचान गरी प्रचलित कानुनबमोजिम कडा कारबाहीका लागि सम्बन्धित सुरक्षा निकायले आवश्यक प्रक्रिया अघि बढाइसकेको मन्त्रालयले जनाएको छ।
नारायणी अस्पतालमा ड्युटीमा रहेका चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यमन्त्री निशा मेहताले घाइते चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाएकी छिन्। उनले राष्ट्रिय ट्रमा सेन्टर पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
मन्त्रालयले स्वास्थ्य सेवा अति संवेदनशील, अत्यावश्यक र जीवनरक्षक क्षेत्र भएकाले उपचार सेवामा कुनै अवरोध आउन नदिन सबै अस्पताललाई सचेत गराएको छ। स्वास्थ्यकर्मीले सुरक्षित, भयमुक्त र सम्मानजनक वातावरणमा काम गर्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्दै मन्त्रालयले उपचार सेवा निरन्तर सञ्चालन गर्न विशेष अपिल गरेको छ।
