सुस्तावासीको नागरिकता समस्या समाधानका लागि सरकारद्वारा विवरण सङ्कलन सुरु

khabarwave
२९ असार २०८३

रुपन्देही । आफ्नै भूमिमा बसोबास गर्दै पनि नागरिकता नपाएका सुस्तावासीको वास्तविक अवस्था पहिचान गर्न सरकारले विवरण सङ्कलन सुरु गरेको छ।

काठमाडौँमा आन्दोलनरत सुस्तावासीले गृहमन्त्रीसँग भेटेर नागरिकता र सीमा सुरक्षासम्बन्धी समस्या उठाएपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई आवश्यक विवरण सङ्कलन गरी नागरिकता वितरण प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो।

सोही निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानीय तहका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सुस्ता बचाउ अभियानको संयुक्त टोलीले आइतबारदेखि सुस्ता गाउँपालिका–५ का विभिन्न बस्तीमा घरदैलोमार्फत विवरण सङ्कलन थालेको हो।

सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खानका अनुसार टोलीले प्रत्येक घरका मूल व्यक्तिको तस्बिरसहित उनीहरूको नागरिकताको अवस्था, यसअघि नागरिकता लिएको भए त्यसको प्रकार तथा परिवारका अन्य सदस्यको विवरण सङ्कलन गरिरहेको छ। पहिलो दिन बड्का टोलका ७५ जनाको विवरण सङ्कलन गरिएको उनले जानकारी दिए।

सुस्ता बचाउ आन्दोलनका प्रवक्ता रविन्द्र जैसवालका अनुसार सबै घरको विवरण सङ्कलन सम्पन्न भएपछि मात्रै नागरिकताविहीन व्यक्तिको यकिन संख्या सार्वजनिक हुनेछ। सोमबारदेखि वडा नम्बर–५ का अन्य बस्तीमा पनि यो अभियानलाई निरन्तरता दिइएको छ।

विवरण सङ्कलन कार्यमा वडाध्यक्ष प्रभुनाथ यादव, वडासदस्य आदम हुसेन, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा वडा समन्वय समितिका प्रतिनिधिहरू सहभागी छन्।

सुस्तावासीले सीमा अतिक्रमण रोक्न, नागरिकता वितरण गर्न र लालपुर्जा उपलब्ध गराउन माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा आन्दोलन गरेका थिए। गृह मन्त्रालयसँग सहमति भएपछि उनीहरू गाउँ फर्किएका हुन्। मन्त्रालयले नागरिकता वितरण प्रक्रिया अघि बढाउने र सुस्ता क्षेत्रको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

Loading spinner