सुशिलाले च्यापेकी आदर्शकुमार पनि पदमुक्त
काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको कार्यकालमा नियुक्त राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्शकुमार श्रेष्ठ पदमुक्त हुने भएका छन्।
प्रतिनिधिसभा निर्वाचन (२१ फागुन) पछि पद छाड्ने तयारीमा रहेकी प्रधानमन्त्री कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव श्रेष्ठलाई कोषको अध्यक्षमा मनोनीत गरेकी थिइन्। तर नियुक्त भएको करिब डेढ महिनामै उनी पदमुक्त हुने अवस्थामा पुगेका छन्।
पदमुक्त हुने पदाधिकारीहरूको अनुसूची १० मा राष्ट्रिय प्रकृति संरक्षण कोष पनि समावेश गरिएको छ। उक्त अनुसूचीमा कोष ऐन, २०३९ को दफा ५ अनुसारका अध्यक्ष र सदस्यहरू पदमुक्त हुने व्यवस्था उल्लेख गरिएको छ।
कानुनी प्रावधानअनुसार प्रधानमन्त्री कोषका संरक्षक हुन्छन् र अध्यक्षको नियुक्ति गर्ने अधिकार पनि प्रधानमन्त्रीमै निहित हुन्छ। यसअघि अध्यक्षको कार्यकाल पाँच वर्षको हुने व्यवस्था थियो, जसलाई नयाँ अध्यादेशले खारेज गरेको छ। कोषका अध्यक्षले मन्त्रीसरह सुविधा पाउने प्रचलन थियो।
परम्परागत रूपमा वन्यजन्तु तथा प्रकृति संरक्षण क्षेत्रमा अनुभव भएका व्यक्तिलाई नियुक्त गर्ने अभ्यास रहे पनि कार्कीले त्यस्तो अनुभव नभएका आफ्ना स्वकीय सचिव श्रेष्ठलाई नियुक्त गरेकी थिइन्, जसले आलोचना निम्त्याएको थियो।
यसबीच श्रेष्ठले दोहोरो जिम्मेवारी पनि सम्हालेका थिए। नयाँ सरकार गठन भएको चार दिनपछि, १७ चैत २०८३ मा उनी समाज कल्याण परिषद्को कानुनी सल्लाहकारमा नियुक्त भएका थिए। उक्त पदमा उनलाई सहायक निर्देशकसरह मासिक ४३,६८९ रुपैयाँ तलब तोकिएको थियो। तर परिषद्सँग सम्बन्धित मुद्दा वा बहसमा भने उनको सक्रिय संलग्नता नरहेको बताइन्छ।
उक्त नियुक्तिमा परिषद्का सदस्य सचिव सरोजकुमार शर्माको भूमिका रहेको थियो। शर्मा स्वयं पनि श्रेष्ठको सिफारिसमा सो पदमा नियुक्त भएको आरोप लाग्दै आएको थियो।
दुवै नियुक्ति सार्वजनिक भएपछि नागरिकस्तरबाट आलोचना भएको थियो। सामाजिक सञ्जालमार्फत रिजन रानामगरले मन्त्री सीता बादीलाई लक्षित गर्दै दोहोरो सुविधा लिने प्रवृत्तिमाथि प्रश्न उठाएका थिए।
कानुनी रूपमा राज्यकोषबाट दोहोरो सुविधा लिनु भ्रष्टाचार मानिन्छ, र यस्ता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्ला दिनहरूमा मुद्दासमेत दायर गर्दै आएको छ।
शनिबार जारी अध्यादेशसँगै कोषका अध्यक्ष श्रेष्ठ मात्र होइन, उनलाई दोहोरो नियुक्ति दिने समाज कल्याण परिषद्का सदस्य सचिव सरोजकुमार शर्मा पनि पदमुक्त भएका छन्।
