सुनसरीको देवानगञ्जमा दुई समूहबीच झडप, प्रहरीको गोली लागेर एकको मृत्यु, २२ जना घाइते

khabarwave
११ श्रावण २०८३

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको ‘बोलबम’ यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा प्रदर्शनकारी र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्।

प्रहरीका अनुसार आइतबार राति बोलबम यात्राका लागि एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। त्यसक्रममा अर्को समूहले रातिको समयमा अत्यधिक होहल्ला र ध्वनि प्रदूषण भएको भन्दै विरोध जनाएपछि विवाद सुरु भएको थियो।

विवाद चर्किँदै जाँदा दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ। त्यसपछि स्थिति तनावग्रस्त बन्दै गएपछि उत्तेजित भीडले कप्तानगञ्ज बजार क्षेत्रका घर, मेडिकल, सवारीसाधन तथा अन्य सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड र आगजनी गरेको बताइएको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेको थियो। तर त्यसबाट पनि भीड नियन्त्रणमा नआएपछि थप क्षति रोक्न बाध्य भएर गोली चलाइएको प्रहरी र स्थानीय प्रशासनको भनाइ छ।

प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनामा घाइते भएका २२ जनामध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनापछि कप्तानगञ्ज तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सुरक्षा व्यवस्था कडा पारिएको र प्रभावित क्षेत्रमा शान्ति तथा सुरक्षा कायम गर्ने प्रयास जारी रहेको जिल्ला प्रशासन र प्रहरी स्रोतले जनाएको छ।

Loading spinner