संसद्मा भूमिका प्रभावकारी बनाउन एमालेले सांसदलाई प्रशिक्षण दिने

khabarwave
३ श्रावण २०८३

काठमाडौं । नेकपा (एमाले) ले संघीय संसद्मा आफ्ना सांसदहरूको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यसहित आज अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

पार्टीको संसदीय विभागको आयोजनामा बिहान ११ बजे केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूको संसदीय भूमिका, जिम्मेवारी र प्रस्तुतिबारे प्रशिक्षण दिने विभाग प्रमुख तथा पार्टी सचिव पद्मा अर्यालले जानकारी दिइन्।

कार्यक्रममा संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद् सचिवालयको कार्यप्रणाली, अधिकार, संसदीय समितिहरूको भूमिका तथा समितिमा उठाउनुपर्ने विषयका बारेमा जानकारी गराउनेछन्।

त्यस्तै, पार्टी महासचिव शंकर पोखरेलले पार्टीको नीति, सांसदको जिम्मेवारी तथा संसद्मा पार्टीको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा प्रशिक्षण दिनेछन्। उनले सांसदहरूले संसदीय गतिविधिमा पार्टीका सम्बन्धित विभागसँग समन्वय र परामर्श गरेर अघि बढ्नुपर्ने विषयमा पनि स्पष्ट पार्ने कार्यक्रम रहेको छ।

एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार कार्यक्रममा पार्टीका सबै विभाग प्रमुख र पूर्वसदस्यलाई पनि सहभागी हुन जानकारी गराइएको छ। विषयगत विज्ञहरूको रोस्टर तयार गरी आवश्यक पर्दा सांसदलाई परामर्श उपलब्ध गराउने व्यवस्था समेत गरिने उनले बताए।

प्रशिक्षण कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका एमाले सांसदहरूको सहभागिता रहनेछ।

Loading spinner