संकटका बेला केकाे पुनर्गठन ?
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको बहस चलाउने नेता तथा कार्यकर्तामाथि अनुशासनको कारबाही हुन सक्ने चेतावनी दिएका छन्।
सोमबार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टी र नेतृत्वमाथि संकट आएको बेला पुनर्गठनको बहस उठाएर पार्टीलाई थप कमजोर बनाउने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाएका हुन्। बैठकमा सहभागी एक पदाधिकारीका अनुसार ओलीले झण्डै एक घण्टा बोलेका थिए।
‘पार्टी र नेतृत्व अप्ठ्यारोमा परेका बेला पुनर्गठनको बहस चलाउनु अराजक गतिविधि हो भन्ने उहाँको आशय थियो,’ ती नेताले भने, ‘यस्ता गतिविधिमा संलग्नहरूलाई अनुशासनको कारबाही हुन सक्छ भन्ने चेतावनी पनि दिनुभयो।’
बैठकमा अध्यक्ष ओलीले कसैको नाम भने खुलाएर उल्लेख नगरे पनि उनको टिप्पणी उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई र नेता सुरेन्द्र पाण्डेलाई लक्षित गरिएको नेताहरूको बुझाइ छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षाअनुसार परिणाम ल्याउन नसकेको भन्दै संस्थापन पक्षकै केही नेताहरूले नेतृत्व पुनर्गठनको आवश्यकता औंल्याउँदै आएका छन्। उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ लगायत नेताहरूले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन्।
महासचिव शंकर पोखरेलले समेत पछिल्लो समय नेतृत्वको विकल्पबारे छलफल आवश्यक रहेको संकेत गरेपछि अध्यक्ष ओली थप असन्तुष्ट बनेको नेताहरूको भनाइ छ।
बैठकमा अध्यक्ष ओलीको अभिव्यक्तिपछि उपमहासचिव योगेश भट्टराईले प्रतिवाद गर्दै ‘अब तपाईंले के जित्न बाँकी छ?’ भन्ने प्रश्न उठाएको एक सदस्यले बताए। अन्य केही नेताहरूले पनि पुनर्गठनको बहसलाई कारबाहीसँग जोड्न नहुने भन्दै प्रतिवाद गरेका थिए।
एक सचिवालय सदस्यका अनुसार आगामी बैठकमा यस विषयमा थप चर्को बहस हुने सम्भावना छ। ‘नेतृत्वले वर्तमान परिस्थितिको यथार्थ मूल्यांकन गर्न, कमजोरी स्वीकार गर्न र पार्टीभित्रको अवरोध हटाउने दिशामा सोच्नुपर्ने आवाज उठेको छ,’ ती नेताले भने।
एमाले सचिवालयको अर्को बैठक शुक्रबार बस्ने तय भएको छ। बैठकका लागि ११ वटा कार्यसूची तय गरिएको बताइएको छ। सोमबारको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय पनि गरेको थियो। साथै, अब छिट्टै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भइरहेको नेताहरूले बताएका छन्।
