रामकृष्णलाई आफ्नै बोली गलपासो
काठमाडौं । गायक रामकृष्ण ढकाल निर्मित चलचित्र मालती मंगले ले अपेक्षाअनुसार व्यापार गर्न नसकेको चर्चा भइरहेको छ । रिलिजअघि उत्पन्न भएको विवादले चलचित्रको प्रदर्शनमा असर परेको विश्लेषण गरिएको छ ।
चलचित्र प्रदर्शनको तयारी भइरहेका बेला ढकाल सञ्चारकर्मी प्रकाश सुवेदी सञ्चालन गर्ने कार्यक्रममा अन्तर्वार्ताका लागि पुगेका थिए । चलचित्रको प्रचारका लागि दिइएको उक्त अन्तर्वार्तापछि भने अनपेक्षित विवाद सिर्जना भयो ।
अन्तर्वार्ताका क्रममा सुवेदीले रवि लामिछाने जेलबाट बाहिरिएको प्रसंग उठाएका थिए । त्यसबेला लामिछानेलाई गाडीमा राखेर लगेको व्यक्ति आफू नै भएको कुरा ढकालले स्वीकार गरेका थिए ।
लामिछाने गाडीमा हुइँकिएको भिडियो त्यसअघि नै सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर, गाडी कसको थियो र चालक को थिए भन्ने विषय सार्वजनिक भएको थिएन ।
ढकालको स्वीकारोक्तिपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखियो । रास्वपा विरोधी समूहले उनलाई आलोचना गर्दै विभिन्न टिप्पणी गरे । केहीले उनलाई ‘खरानी ग्याङको ड्राइभर’ भन्दै ट्रोलसमेत गरे भने चलचित्र बहिष्कारको अभियान पनि चलाइएको थियो ।
यही विवादबीच रिलिज भएको मालती मंगले ले हलमा अपेक्षित दर्शक तान्न सकेको छैन । निर्माण टिमले व्यापक प्रचारप्रसार गरे पनि चलचित्रले उल्लेखनीय गति लिन नसकेको बताइन्छ । यद्यपि, ढकालले भने चलचित्रले लगानी उठाउने विश्वास व्यक्त गरेका छन् ।
सञ्चारकर्मी प्रकाश सुवेदी सँगको अन्तर्वार्तापछि कलाकार वा निर्माता विवादमा तानिएको यो पहिलो घटना भने होइन । तर, कार्यक्रम नजाँदा थप आलोचना हुने डरले धेरै कलाकार जोखिम मोलेर अन्तर्वार्तामा सहभागी हुने गरेका छन् ।
यसैबीच, सुवेदीको कार्यक्रममा चलचित्र लालीबजार का निर्माता प्रदिप भट्टराई र अभिनेत्री स्वस्तिमा खड्का अतिथिका रूपमा पुगेका थिए । कार्यक्रममा सुवेदीले रामकृष्ण ढकालसँग सम्बन्धित विषय पनि उठाए ।
ढकाललाई लक्षित गर्दै बनाइएको पोस्टर देखाउँदै सुवेदीले आफूलाई चलचित्र डुबाएको आरोप लगाइएको बताएका थिए । कार्यक्रममा ढकालले पठाएको म्यासेजको स्क्रिनसटसमेत देखाइएको थियो ।
उक्त सन्देशमा ढकालले विदेशी प्रदर्शन अधिकार बिक्रीको प्रक्रिया प्रभावित भएको उल्लेख गर्दै अन्तर्वार्ताले ‘ब्याकफायर’ गरेको टिप्पणी गरेका थिए ।
निर्माता–निर्देशक प्रदिप भट्टराई ले यस्ता विवादले चलचित्रको व्यापारमा असर पार्न सक्ने बताए । उनले आफ्नै चलचित्र लालीबजार रिलिजअघि पनि यस्तै समस्या भोग्नुपरेको अनुभव सुनाए । यता, प्रकाश सुवेदी ले भने सामाजिक सञ्जालमा आलोचना गर्ने र हलमा चलचित्र हेर्न आउने दर्शक फरक हुने भएकाले विवादले ठूलो असर नपार्ने धारणा राखे ।
