रवि–बालेनबीच सुकुम्बासी समस्या र सरकारको कार्यशैलीबारे संवाद

khabarwave
२९ असार २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार करिब चार घण्टा लामो भेटवार्ता भएको छ।

बुढानीलकण्ठस्थित लामिछानेको निवासमा भएको छलफलमा पछिल्लो राजनीतिक अवस्था, सुकुम्बासी व्यवस्थापन, सरकारको कार्यशैली तथा मुलुकको समसामयिक परिस्थितिबारे विस्तृत संवाद भएको दुवै पक्षनिकट स्रोतले जनाएको छ।

स्रोतका अनुसार लामिछानेले प्रधानमन्त्री शाहलाई बदलिएको राजनीतिक परिस्थितिअनुसार संवेदनशील ढंगले अघि बढ्न सुझाव दिएका थिए। विशेषगरी सुकुम्बासी व्यवस्थापनका क्रममा देखिएका समस्या र सरकारप्रति बढ्दो जनअसन्तुष्टिबारे दुवै नेताबीच गम्भीर छलफल भएको बताइएको छ।

छलफलको अधिकांश समय दुई नेताबीच एकान्तमा भएको थियो। स्रोतका अनुसार आवश्यकताअनुसार केही नेताहरू पनि केहीबेर छलफलमा सहभागी भएका थिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार साँझ टेलिफोन संवाद भएपछि आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म भेटवार्ता भएको हो। प्रधानमन्त्री शाह नै लामिछानेलाई भेट्न बुढानीलकण्ठ पुगेका थिए।

यता, आइतबार गृहमन्त्री सुधन गुरुङ, स्वास्थ्य मन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, श्रममन्त्री रामजी यादव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी र भूमि व्यवस्था मन्त्री प्रतिभा रावलसहितका मन्त्रीहरू भक्तपुरको खरिपाटी पुगेर सुकुम्बासीसँग भेटघाट गरेका थिए।

यसैबीच, माइतीघर मण्डलमा सुकुम्बासीहरूको विरोध प्रदर्शन जारी रहे पनि प्रधानमन्त्री शाह र सभापति लामिछानेले गणेश नेपालीको आत्मदाह घटना तथा सुकुम्बासीको अवस्थाबारे सार्वजनिक रूपमा कुनै धारणा व्यक्त गरेका छैनन्।

Loading spinner