बीएनवाईएस चिकित्सक चेतना पौडेल पक्राउ प्रकरणाकाे चिरफार

khabarwave
१७ असार २०८३

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्राकृतिक चिकित्सा तथा योग विज्ञान (बीएनवाईएस) अध्ययन गरेकी चेतना (चेतना एएम) पौडेललाई गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ गरेपछि उक्त विषय कानुनी र व्यावसायिक बहसको केन्द्र बनेको छ।

सिआइबीले असार ९ गते चन्द्रागिरि नगरपालिका–८ बाट पौडेललाई पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट जारी गरिएको प्रेस विज्ञप्तिमा उनलाई “गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति” का रूपमा उल्लेख गरिएको थियो। त्यसपछि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनलाई “नक्कली डाक्टर” भनेर समाचार र टिप्पणीहरू सार्वजनिक हुन थाले।

किन पक्राउ गरियो?

सिआइबीका अनुसार नेपाल मेडिकल काउन्सिलले बुझाएको छानबिन प्रतिवेदन र प्रारम्भिक अनुसन्धानका आधारमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर पौडेललाई नियन्त्रणमा लिइएको हो।

काउन्सिलको प्रतिवेदनमा पौडेलले आधुनिक चिकित्सा विज्ञानको शैक्षिक योग्यता नलिई आधुनिक चिकित्सा पद्धतिअनुसार बिरामीको परीक्षण, निदान, औषधि सिफारिस तथा अन्य चिकित्सकले चलाइरहेको औषधिमा परिवर्तन गरेको आरोप लगाइएको छ।

सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार उनीमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत इलाजसम्बन्धी कसुर मा अनुसन्धान भइरहेको छ।

के भन्छ कानुन?

मुलुकी अपराध संहिता, २०७४ को दफा २३० अनुसार कानूनबमोजिम इजाजत प्राप्त व्यक्तिबाहेक कसैले चिकित्सा सेवा दिन, औषधि सिफारिस गर्न वा उपचार गर्न पाउँदैन।

यस व्यवस्थाको उल्लंघन गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने कानुनी प्रावधान छ। त्यस्तै, गैरकानुनी उपचारका कारण बिरामीको मृत्यु भए जन्मकैद र अङ्गभङ्ग भए १५ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ।

चेतना पौडेलको शैक्षिक योग्यता

पौडेलले भारतको बेङ्गलुरुस्थित राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत एसडीएम कलेज अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेजबाट ब्याचलर अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेज (बीएनवाईएस) अध्ययन पूरा गरेकी हुन्।

यो साढे पाँच वर्षे पूर्णकालीन व्यावसायिक स्वास्थ्य विज्ञान कार्यक्रम हो, जसमा सैद्धान्तिक अध्ययन, क्लिनिकल तालिम र अनिवार्य इन्टर्नसिप समावेश हुन्छ।

नेपालमा उनको दर्ता

पौडेल नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएकी स्वास्थ्यकर्मी हुन्। उनले प्राप्त गरेको बीएनवाईएस उपाधिले नेपालमा समकक्षता पनि पाएको छ।

नेपाल योग तथा प्राकृतिक चिकित्सा संघले पौडेललाई “नक्कली चिकित्सक” भन्न नमिल्ने दाबी गरेको छ। संघका अनुसार बीएनवाईएस अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त चिकित्सा शिक्षा हो र भारतमा यसका स्नातकहरूले “डा.” उपाधि प्रयोग गर्दै आएका छन्।

संघका अध्यक्ष डा. जनकबहादुर बस्नेतले पौडेल वैधानिक रूपमा दर्ता भएकी स्वास्थ्य व्यवसायी भएको उल्लेख गर्दै डिग्रीलाई नक्कली भन्नु गलत भएको बताए।

विवादको मूल विषय

सिआइबी र नेपाल मेडिकल काउन्सिलका अनुसार विवादको केन्द्र डिग्री होइन, बीएनवाईएस अध्ययन गरेकी व्यक्तिले आधुनिक एलोपेथिक चिकित्सा प्रणालीअन्तर्गत औषधि सिफारिस तथा उपचार गरेको आरोप हो।

नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले मुद्दा अदालतमा विचाराधीन रहेकाले यसबारे थप टिप्पणी गर्न नमिल्ने बताए।

उता, नेपाल योग तथा प्राकृतिक चिकित्सा संघले पनि यदि आधुनिक औषधि सिफारिस गरिएको पुष्टि भए त्यो कानुनअनुसार गलत हुन सक्ने स्वीकार गरेको छ। तर बीएनवाईएस डिग्रीलाई अवैध वा नक्कली भन्नु उचित नभएको संघको भनाइ छ।

‘डा.’ उपाधिबारे अन्योल

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अनुसार हालको कानुनी व्यवस्थामा बीएनवाईएस अध्ययन गरेका व्यक्तिले “डा.” उपाधि प्रयोग गर्न पाउने वा नपाउने विषय अझै स्वास्थ्य मन्त्रालयमा छलफलकै क्रममा छ।

नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार भने आधुनिक चिकित्सा (एलोपेथिक) विषयमा मान्यता प्राप्त संस्थाबाट उपाधि प्राप्त गरी मेडिकल काउन्सिलमा दर्ता भएका व्यक्तिलाई मात्र चिकित्सकका रूपमा मान्यता दिइएको छ।

अब पौडेलमाथिको आरोप पुष्टि हुन्छ वा हुँदैन भन्ने विषय अदालतको निर्णयपछि मात्रै टुंगो लाग्नेछ।

Loading spinner