पूर्व एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

khabarwave
१३ असार २०८३

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार हात्तीगौँडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीको करिब ८ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरेको आरोपमा शेर्पामाथि अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा शेर्पाले विभिन्न प्रक्रिया दुरुपयोग गर्दै व्यक्तिगत लाभ लिएको र विद्यालयलाई आर्थिक क्षति पुर्‍याएको आरोप लागेको छ।

अनुसन्धानका क्रममा शेर्पाले विद्यालयलाई हानि पुर्‍याउने उद्देश्यले भक्तपुरको दधिकोटस्थित २९ रोपनी ४ आना जग्गा डर, त्रास तथा अनुचित प्रभाव प्रयोग गरी आफ्नै स्वामित्वसँग सम्बन्धित कम्पनीलाई बिक्री गरेको प्रारम्भिक तथ्य फेला परेको सीआईबीले जनाएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

Loading spinner