निरन्तर संवादमा सभापति थापा

khabarwave
२२ बैशाख २०८३

काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक रणनीति तथा समसामयिक राजनीतिक विषयमा छलफललाई तीव्र बनाएका छन्। यसैक्रममा उनले आज शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय गरेका छन्।

थापाले बिहान नेता डा. शेखर कोइरालासँग र बेलुकी निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गर्ने तयारी गरेका हुन्।

सभापतिका स्वकीय सचिव शंकर कुइकेलका अनुसार कोइरालासँग बिहान १० बजे एक्लै भेटवार्ता हुनेछ भने खड्कासँग बेलुकी ५ बजे हुने छलफलमा उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी हुनेछन्। भेटस्थल भने गोप्य राखिएको छ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमै थापाले शीर्ष नेताहरूसँग हुने यी भेटबारे जानकारी दिएका थिए।

पार्टीभित्र शक्ति सन्तुलन र आगामी राजनीतिक कार्यदिशाबारे साझा धारणा बनाउन यी भेटलाई महत्वपूर्ण मानिएको छ। यसअघि वैशाख ६ गते पनि थापाले खड्कासँग उनीकै निवासमा भेटवार्ता गरेका थिए। पछिल्लो समय कांग्रेसभित्र विभिन्न आन्तरिक समीकरण सक्रिय बन्दै गएका बेला सभापति थापाको यो निरन्तर संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Loading spinner