दुई महिनाभित्र परीक्षण उत्पादन गर्ने तयारीमा हेटौँडा कपडा उद्योग

दुई महिनाभित्र परीक्षण उत्पादन गर्ने तयारीमा हेटौँडा कपडा उद्योग

khabarwave
३० असार २०८३

काठमाडौं। लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ। सरकारले तत्काल परीक्षण उत्पादन सुरु गर्दै दीर्घकालीन रूपमा पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्ने लक्ष्यसहित कार्य अघि बढाएको हो।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई उद्योग पुनः सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन मंगलबार बुझाइएको छ। मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग सञ्चालनका लागि हालसम्म भएका काम, आगामी योजना र कार्यदिशा समेटिएको प्रतिवेदन पेश गरेको हो।

प्रतिवेदनअनुसार नेपाली सेनाले आगामी दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित उद्योगका मेसिन मर्मत, सरसफाइ तथा आवश्यक तयारी तीव्र बनाएको छ। यसअघि नै अर्थ मन्त्रालयले परीक्षण उत्पादनका लागि विनियोजन गरिएको बजेटअनुसार आवश्यक काम सुरु भइसकेको छ।

अर्थ मन्त्रालयले नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयलाई प्रारम्भिक कार्यका लागि ३३ लाख रुपैयाँ निकासा गरिसकेको छ। सेनाको प्राविधिक टोलीले उद्योग परिसरमा आवश्यक सरसफाइ, मेसिन मर्मत तथा परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिदको काम अघि बढाएको छ।

उद्योगको भौतिक संरचना मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयले ५० लाख रुपैयाँको लागत अनुमान तयार गरी आवश्यक मर्मतको जिम्मेवारी लिएको छ। उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सम्पन्न गरिसकेको जनाइएको छ।

सरकारले प्रारम्भिक चरणमा पुराना मेसिन मर्मत गरेर परीक्षण उत्पादन गर्ने र त्यसको नतिजाका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना बनाएको छ। त्यसअनुसार आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पनि अघि बढाइने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन बुझ्दै मन्त्री यादवले राष्ट्रिय गौरवसँग जोडिएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्। उनले कार्यदलका सुझावअनुसार तोकिएको समयमै परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

Loading spinner