गगनकाे प्रयासले जुट्ला त काँग्रेस

khabarwave
४ जेष्ठ २०८३

नेपाली कांग्रेसका सभापति गगन थापाले शनिबार उमेश श्रेष्ठलाई पार्टीको कोषाध्यक्षमा मनोनीत गरेका छन्। श्रेष्ठ यसअघि पूर्वसभापति शेरबहादुर देउवाको कार्यकालमा पनि कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। सामान्यतः पार्टी सभापतिले आर्थिक व्यवस्थापन र संगठन सञ्चालन सहज बनाउन आफ्ना विश्वासपात्रलाई कोषाध्यक्ष बनाउने परम्परा रहँदै आएको छ। देउवानिकट मानिएका श्रेष्ठ अहिले थापाको विश्वास जित्न सफल भएका छन्।

यसअघि सभापति थापाले वैशाख २८ गते १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। तर, उक्त निर्णयप्रति संस्थापनइतर समूहका नेताहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूको आरोप छ— समूहभित्र कुनै छलफल नगरी एकलौटी रूपमा केन्द्रीय समिति विस्तार गर्दा पार्टी एकतामै असर पर्न सक्छ।

तर सभापति थापाले भने आफूले पार्टीलाई मिलाएर लैजान निरन्तर प्रयास गरिरहेको बताएका छन्। आइतबार आयोजित कार्यक्रममा उनले १४औँ महाधिवेशनबाट निर्वाचित भए पनि जिम्मेवारीविहीन रहेका नेताहरूलाई सम्मानजनक रूपमा समेटेर अघि बढ्न आफू तयार रहेको स्पष्ट पारे।

‘१४औँ महाधिवेशनबाट निर्वाचित भएर पनि समितिभित्र नसमेटिएका नेताहरूलाई आवश्यक सम्मानसहित जिम्मेवारी दिन चाहन्छु,’ थापाले भने, ‘वरिष्ठ नेता बनाउनुपर्ने भए त्यो पनि गर्न तयार छु। सबैलाई साथ लिएर अघि बढ्ने मेरो चाहना हो।’

उनले अधिवेशनको प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै प्रेमबहादुर खड्काको नेतृत्वमा निर्वाचन समिति गठन भएको र त्यसमा थप सदस्य राख्न पनि आफू तयार रहेको बताए।

थापाले अवसर वितरणमा कुनै विभेद नगर्ने दाबी गरे। उनका अनुसार पार्टीभित्र कसले विशेष महाधिवेशनबाट अवसर पायो वा पाएन भन्ने आधारमा निर्णय नहुने र सबैलाई समान रूपमा अवसर दिइनेछ।

संस्थापनइतर समूहले पार्टी एकताका लागि पर्याप्त पहल नभएको आरोप लगाएपछि थापाले त्यसप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाए। उनले आफूले नेताहरूसँग बारम्बार छलफल गरेको, संवादका लागि निहुरिएर आग्रह गरेको र पार्टी एकताका लागि सक्दो प्रयास गरेको बताए।

असन्तुष्ट पक्षलाई व्यवस्थापन गर्न सभापति थापाले विभिन्न जिम्मेवारी बाँड्ने रणनीति अपनाएका छन्। त्यसअनुसार उनले कोषाध्यक्ष नियुक्तिसँगै केन्द्रीय सदस्य मनोनयन, अनुशासन समिति पुनर्गठन लगायतका काम अघि बढाएका छन्।

अब निर्वाचन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिमा पनि देउवा र शेखर कोइराला समूहबाट एक–एक जना सदस्य थप गर्ने तयारी थापाले गरेका छन्। हाल दुवै समिति तीन सदस्यीय छन् भने अब पाँच सदस्यीय बनाउने र सहमतिका आधारमा निर्णय गर्ने व्यवस्था मिलाउने तयारी छ।

विशेष महाधिवेशनपछि बसेको केन्द्रीय समिति बैठकले नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो। यस्तै महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति पनि बनाइएको छ।

सभापति थापाले यी समितिमा कसलाई समेट्ने भन्ने विषयमा असन्तुष्ट पक्षसँग पनि सुझाव मागेका छन्। उनले निर्वाचन समिति निष्पक्ष बनाउन आवश्यक परे थप व्यक्तिहरू समेट्न सकिने बताएका छन्।

अनुशासन समितिका सन्दर्भमा पनि उनले असन्तुष्ट पक्षलाई खुला प्रस्ताव दिएका छन्। ‘यदि अनुशासन समितिमा असन्तुलन देखिन्छ भने आउनुस्, बसेर नाम तय गरौँ,’ थापाले भने।

यता, नेपाली कांग्रेसको संशोधित विधान भने अझै सार्वजनिक गरिएको छैन। पार्टीको वेबसाइटमा विधान उपलब्ध नभएको भन्दै संस्थापनइतर समूहले असन्तुष्टि जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार विधान छिट्टै डिजिटल माध्यमबाट सार्वजनिक गरिनेछ।

संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २२० भन्दा बढी सदस्यीय हुनेछ। तीमध्ये १३४ जना विशेष महाधिवेशनबाट निर्वाचित भएका छन् भने सभापतिले थप १५ जना मनोनीत गरिसकेका छन्।

संस्थापनइतर समूहले विधानअनुसार उपलब्ध हुने मनोनयनको स्थान र अधिकार स्पष्ट गर्न संशोधित विधान माग गर्दै आएको छ। तर संस्थापन पक्षले विधान सार्वजनिक नगरी त्यसभित्र रहेका प्रावधान प्रयोग गर्दै क्रमशः जिम्मेवारी बाँडिरहेको आरोप उनीहरूको छ।

संस्थापन पक्षका एक नेताले भने विधानले दिएको अधिकतम अधिकार प्रयोग गर्दै योग्य र इच्छुक व्यक्तिलाई जिम्मेवारी दिने नीति अपनाइएको बताए। उनका अनुसार विधान सार्वजनिक नगर्नु पनि एउटा रणनीतिक कदम हुन सक्छ।

उपसभापति विश्वप्रकाश शर्माले पनि शेखर कोइरालानिकट प्राडा गोविन्दराज पोखरेललाई प्रतिष्ठानको सदस्य नियुक्त गरेर इतर समूहलाई समेट्ने प्रयास थालेका छन्।

तर, संस्थापनइतर समूह भने अझै सन्तुष्ट देखिएको छैन। एकमुष्ट सहमति खोजिरहेका उनीहरूलाई संस्थापन पक्षले क्रमिक रूपमा व्यक्तिलाई जिम्मेवारी दिँदै कमजोर पार्न खोजेको बुझाइ छ। त्यसैले उनीहरू पार्टीभित्रै दबाब सिर्जना गर्ने र आवश्यक परे नयाँ राजनीतिक विकल्पबारे समेत छलफल गर्ने रणनीतिमा देखिएका छन्।

यसैबीच, पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि पार्टी एकताका लागि सक्रिय पहल गर्न सभापति थापालाई सुझाव दिएका थिए। विशेष महाधिवेशनपछि थापा र खड्काबीच दुईपटक भेटवार्ता भइसकेको र पार्टी एकतालाई प्राथमिकता दिने प्रतिबद्धता आदानप्रदान भएको बताइएको छ।

Loading spinner