क्लिन चिटकाे पर्खाइमा सुधन

khabarwave
२३ बैशाख २०८३

काठमाडौं — गत चैत १३ मा प्रधानमन्त्री बालेन्द्र शाह सँगै गृहमन्त्रीको शपथ लिएका सुधन गुरुङ अहिले सार्वजनिक जीवनबाट टाढा देखिएका छन्। लगातार विवादमा परेपछि उनले गत वैशाख ९ मा पदबाट राजीनामा दिएका थिए र त्यसयता उनी सार्वजनिक रूपमा देखिएका छैनन्।

विवादास्पद व्यवसायी दीपक भट्ट सँग आर्थिक साझेदारी र साँठगाँठको आरोप लागेपछि गुरुङमाथि दबाब बढेको थियो। अन्ततः चौतर्फी आलोचना र दबाबका बीच रवि लामिछाने र प्रधानमन्त्री शाहको आग्रहमा उनले पद छाड्नुपरेको हो।

गुरुङले राजीनामा दिएको १२ दिन बितिसक्दा पनि नयाँ गृहमन्त्री नियुक्त गरिएको छैन। बरु प्रधानमन्त्री शाहले स्वयं गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै देशभर सुकुम्वासी बस्ती हटाउने अभियान अघि बढाइरहेका छन्। रक्षासहित गृह मन्त्रालयको दोहोरो जिम्मेवारी उनी आफैंले निर्वाह गरिरहेका छन्।

यसबीच, गुरुङका पूर्व सचिवालय सदस्य जेम्स कार्की भने अझै सक्रिय देखिएका छन्। उनी स्वयंसेवकका रूपमा प्रधानमन्त्रीको काममा खटिँदै आएका छन् र गृह मन्त्रालयअन्तर्गतकै काममा संलग्न रहेको देखिन्छ। सरकारी परिचयपत्रसहित प्रहरीसँग समन्वय गर्दै उनी विभिन्न सुकुम्वासी बस्ती हटाउने क्रममा निर्देशन दिँदै गरेको दृश्य पनि देखिएको छ।

मनोहरा र थापाथलीलगायत स्थानका बस्ती हटाउने क्रममा कार्कीको सक्रियता देखिए पनि, सरकारले अहिलेसम्म न त नयाँ गृहमन्त्री नियुक्त गर्न सकेको छ, न त गुरुङमाथि औपचारिक छानबिन अघि बढेको छ। आन्तरिक सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा मन्त्री नहुनुले सरकारमाथि प्रश्न उठिरहेका छन्।

गुरुङ प्रकरणमा छानबिन गर्न औपचारिक समिति अहिलेसम्म गठन भएको छैन। केही दिनभित्रै समिति बन्ने आश्वासन दिइए पनि १२ दिन बितिसक्दा पनि कुनै प्रगति देखिएको छैन। यसले विभिन्न आशंका जन्माएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूका अनुसार अनौपचारिक रूपमा अनुसन्धान भइरहेको दाबी गरिएको छ। पार्टी कोषाध्यक्ष लिमा अधिकारीले पार्टी र अनुशासन आयोगले विषयमा अध्ययन गरिरहेको बताएकी छन्। उनका अनुसार छिट्टै निष्कर्ष आउने अपेक्षा गरिएको छ।

तर, पार्टीभित्रै पनि यस विषयमा रवि लामिछाने मौन देखिएका छन् भने मन्त्रिपरिषद् बैठकमा पनि प्रधानमन्त्री शाहले यसबारे ठोस प्रस्ताव अघि सारेका छैनन्।

प्रधानमन्त्री सचिवालयका एक सदस्यका अनुसार भने औपचारिक छानबिन समिति गठन गर्ने तयारी भइरहेको छ र केही दिनभित्रै समिति बन्ने दाबी गरिएको छ।

यता, राजीनामा दिएपछि पनि गुरुङले अनौपचारिक रूपमा गृह मन्त्रालय चलाइरहेको टिप्पणीहरू पनि सार्वजनिक भएका छन्। तर पार्टी महामन्त्री भूपदेव शाहले ती आरोप निराधार भएको बताएका छन्। उनका अनुसार अहिले गृह मन्त्रालयको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री शाहले नै सम्हालिरहेका छन्।

Loading spinner