कुवेत र इराकमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

khabarwave
२९ असार २०८३

काठमाडौं । कुवेतस्थित नेपाली दूतावासले कुवेत र इराकमा रहेका नेपाली नागरिकलाई स्थानीय सुरक्षा अवस्थालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

दूतावासले सार्वजनिक गरेको सूचनामा कुवेत र इराकका सम्बन्धित सरकारी निकायबाट जारी हुने सुरक्षा निर्देशन तथा सूचनाको पूर्ण पालना गर्न नेपाली समुदायलाई अनुरोध गरिएको छ।

त्यस्तै, सामाजिक सञ्जालमा अपुष्ट वा भ्रामक सूचना साझा नगर्न तथा स्थानीय सरकारले प्रतिबन्ध लगाएका कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासले सचेत गराएको छ।

दूतावासले हवाई आक्रमण, प्रतिरक्षा गतिविधि वा त्यस्ता घटनासँग सम्बन्धित तस्बिर तथा भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक नगर्न विशेष आग्रह गरेको छ। यस्ता विषयमा कुवेत सरकारले जारी गरेका नियम तथा निर्देशनको पूर्ण पालना गर्नुपर्ने उल्लेख गरिएको छ।

साथै, कुनै पनि शंकास्पद वा अपरिचित वस्तुको नजिक नजान, साइरन बजे बाहिर रहेका व्यक्तिले नजिकको सुरक्षित भवनमा आश्रय लिन र भवनभित्र रहेका व्यक्तिले सुरक्षित स्थानमै बस्न दूतावासले अनुरोध गरेको छ। सिसा भएका झ्याल वा बार्दली नजिक नबस्न पनि दूतावासले सचेत गराएको छ।

कुवेतमा रहेका नेपालीलाई कन्सुलर सेवा वा अन्य कुनै सहयोग आवश्यक परे नेपाली दूतावाससँग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

Loading spinner