कांग्रेसले खोल्यो नयाँ क्रियाशील सदस्यताका लागि आवेदन
काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुला गरेको छ।
सोमबार बसेको पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नयाँ सदस्यता आवेदन प्रक्रिया औपचारिक रूपमा खुला गर्ने निर्णय गरेको हो।
समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले देश तथा विदेशमा रहेका योग्य नेपाली नागरिकलाई पार्टीको क्रियाशील सदस्य बन्न आह्वान गर्ने निर्णय गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
पार्टीले नयाँ क्रियाशील सदस्यताका लागि अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ। यससँगै इच्छुक व्यक्तिहरूले कांग्रेसको आधिकारिक वेबसाइटमार्फत सहज र सरल रूपमा आवेदन फाराम भर्न सक्ने भएका छन्।
कांग्रेसले जारी गरेको विज्ञप्तिमा नेपालको संविधान, पार्टीको विधान, नियमावली र अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धतासहित योग्यता पुगेका सबै नेपाली नागरिकले सदस्यताका लागि आवेदन दिन सक्ने उल्लेख गरिएको छ।
पार्टीले यो प्रक्रिया खुला गरेसँगै संगठन विस्तार र नयाँ सदस्यता वृद्धि हुने अपेक्षा गरिएको छ।
