कांग्रेसको देशव्यापी चुनावी समीक्षा सुरु

khabarwave
२६ बैशाख २०८३

धनगढी । नेपाली कांग्रेसले देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण अभियानको सुरुवात आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट गर्दैछ।

पार्टीको संगठनात्मक अवस्था र हालैका निर्वाचन परिणामबारे विस्तृत छलफल गर्न आयोजित कार्यक्रम बिहान १० बजेदेखि धनगढीस्थित सौराई ब्याङ्केटमा सुरु हुने भएको छ।

सहमहामन्त्री प्रकाश रसाइलीका अनुसार कार्यक्रममा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूको सहभागिता रहनेछ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद, झिनो मतान्तरले पराजित उम्मेदवार, प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति रहने बताइएको छ।

कांग्रेसले समीक्षा कार्यक्रममार्फत निर्वाचनका सबल र कमजोर पक्षको विश्लेषण गर्दै आगामी राजनीतिक रणनीति र संगठन सुदृढीकरणका लागि नयाँ कार्यदिशा तय गर्ने लक्ष्य लिएको जनाएको छ।

पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउने तथा आगामी निर्वाचनको तयारीका दृष्टिले धनगढी बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

Loading spinner