ओलीलाई हिक्मत कार्कीको चुनौती

khabarwave
२० श्रावण २०८३

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आफूलाई मुख्यमन्त्रीबाट हटाउने हो भने पार्टीको संस्थागत निर्णयमार्फत मात्रै हटाउन अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्ट चुनौती दिएका छन्।

मंगलबार साँझ भक्तपुरको गुन्डुमा भएको भेटवार्तामा कार्कीले केही महिनामै प्रदेश सरकारको कार्यकाल सकिन लागेका बेला नेतृत्व परिवर्तन गर्नुको औचित्यमाथि नै प्रश्न उठाएका हुन्।

स्रोतका अनुसार कार्कीले ओलीसँग भने, “अब केही महिना मात्रै कार्यकाल बाँकी छ। मैले किन मुख्यमन्त्री छोड्नुपर्ने? म बदनाम भएँ कि? मैले काम गर्न सकिनँ कि?”

छलफलका क्रममा कार्कीले पछिल्लो समय एमालेभित्र संस्थागत निर्णय प्रक्रियालाई बलियो बनाउनुपर्ने आवाज उठिरहेको उल्लेख गर्दै नेतृत्व परिवर्तन पनि पार्टीको औपचारिक निर्णयबाटै हुनुपर्ने धारणा राखेका थिए।

उनले अध्यक्ष ओलीलाई विगतमा अधिकार प्रत्यायोजन गरेर निर्णय गर्ने अभ्यास भए पनि अब पार्टी कमिटीमार्फत निर्णय गर्नुपर्ने सुझाव दिँदै त्यसले संस्थागत संस्कृति सुदृढ हुने बताएका थिए।

कार्कीले पार्टीको सम्बन्धित कमिटीले औपचारिक रूपमा निर्णय गरे त्यसलाई तत्काल स्वीकार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

“संस्थागत निर्णय भएपछि म एक सेकेन्ड पनि पदमा बस्दिनँ,” उनले ओलीसमक्ष भनेको स्रोतको दाबी छ।

मुख्यमन्त्री कार्कीसँग भेट गर्नुअघि अध्यक्ष ओलीले एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडासँग छुट्टै छलफल गरेका थिए। त्यसपछि कार्कीसँग नेतृत्व परिवर्तनबारे प्रत्यक्ष संवाद भएको एमाले स्रोतले जनाएको छ।

एमालेभित्र कोशी प्रदेशमा नेतृत्व परिवर्तन गरी संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको चर्चा चलिरहेका बेला कार्कीले भने पार्टीको संस्थागत निर्णयबाहेक पद नछोड्ने अडान दोहोर्‍याएका हुन्।

यसैबीच, मंगलबारको भेटपछि अध्यक्ष ओलीले बुधबार मुख्यमन्त्री कार्कीसहित एमाले कोशी प्रदेशका पदाधिकारी र प्रदेश नेतृत्वसँग सामूहिक छलफल गर्ने कार्यक्रम तय गरेका छन्।

Loading spinner