ओलीको राजनीतिक भेटघाट अझै १०-१५ दिन नहुने
काठमाडौं । हालै पत्थरीको शल्यक्रिया गरेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भेटघाट हाल नियन्त्रित गरिएको छ। उनी भक्तपुरस्थित गुण्डुमा रहेको निवासको माथिल्लो तलामा आराम गरिरहेका छन्।
ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार शल्यक्रियापछि संक्रमण (इन्फेक्सन) हुन नदिन चिकित्सकको सल्लाहअनुसार भेटघाट सीमित गरिएको हो। चिकित्सकहरूले अझै १० देखि १५ दिनसम्म आराम गर्न सुझाव दिएका छन्।
उनका अनुसार केही दिनअघि शल्यक्रिया गरिएको स्थानमा घाउ बिग्रिएपछि संक्रमणको जोखिम देखिएको थियो। त्यसपछि चिकित्सकको परामर्शमा भेटघाट घटाइएको हो।
शनिबार परीक्षणका लागि पठाइएको रगतको रिपोर्ट आइतबार आएको र त्यसमा स्वास्थ्यस्थिति सुधार भइरहेको देखिएको बज्राचार्यले जानकारी दिए।
उनले भने, “पार्टीका नेताहरू आउँदा दूरी कायम गरेर भेटघाट भइरहेको छ, तर भिडभाडले स्वास्थ्यमा असर गर्ने भएकाले अन्य भेटघाट घटाइएको हो।”
यसअघि घाउ बिग्रिएपछि अस्पताल लैजानुपर्ने अवस्था समेत बनेको थियो। तर घरमै चिकित्सक बोलाएर उपचार गरिएको र संक्रमणको जोखिम देखिएपछि थप सावधानी अपनाइएको बताइएको छ।
ओलीको घरमै नियमित घाउ ड्रेसिङ भइरहेको र रगतको परीक्षण पनि निरन्तर भइरहेको छ।
यसबीच पार्टीका उपाध्यक्ष, महासचिवसहित केही पदाधिकारी तथा केन्द्रीय नेताहरूले गुण्डु पुगेर भेट गरेका छन्। उनीहरूसँग पनि दूरी कायम गरेर सीमित संवाद भइरहेको स्वकीय सचिवले बताए।
चिकित्सकहरूको सल्लाहअनुसार अझै केही समय भेटघाट नियन्त्रित नै रहने बताइएको छ।
