एमाले पुनर्गठन अभियान अन्तिम चरणमा
काठमाडौं । नेकपा (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन अभियानलाई निष्कर्षमा पुर्याउने तयारी तीव्र बनाएको छ। देशव्यापी रूपमा संकलन गरिएका सुझावहरूलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई सुम्पिएको छ।
बिहीबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको कार्यदल बैठकले अभियानका क्रममा देशभरबाट प्राप्त सुझावहरूलाई व्यवस्थित रूपमा समेट्दै अन्तिम प्रतिवेदन तयार पार्ने निर्णय गरेको हो। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पनि विशेष उपस्थिति रहेको थियो।
कार्यदलले निर्वाचनपछिको राजनीतिक अवस्था, पार्टी संगठनको वर्तमान संरचना, नेतृत्व विकास, कार्यशैली सुधार तथा जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित देशका १३ स्थानमा प्रत्यक्ष सुझाव संकलन अभियान सञ्चालन गरेको थियो। अभियानमा नेता–कार्यकर्ता, जनप्रतिनिधि, जनसंगठनका प्रतिनिधि तथा शुभेच्छुकहरूसँग व्यापक छलफल गरिएको एमालेले जनाएको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार अभियानबाट प्राप्त अधिकांश सुझाव पार्टीभित्रको शुद्धीकरण, संगठनलाई थप प्रभावकारी बनाउने उपाय, नेतृत्व हस्तान्तरण, जनआधारित संगठन विस्तार तथा समयानुकूल कार्यशैली विकासमा केन्द्रित रहेका छन्।
बैठकले सुझाव संकलन अभियान सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने सबै कमिटी, नेता–कार्यकर्ता तथा सहभागीप्रति धन्यवाद व्यक्त गरेको छ।
एमाले नेतृत्वको विश्वास छ कि देशभरबाट संकलित राय–सुझावले आगामी संगठनात्मक रूपान्तरणको आधार तयार गर्नेछ। त्यसैका आधारमा तयार हुने प्रतिवेदनले पार्टीको भावी रणनीति, संगठन विस्तार र कार्यशैली सुधारका लागि मार्गचित्र प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
कार्यदलले तयार पार्ने प्रतिवेदन छिट्टै पार्टी नेतृत्वसमक्ष पेश गरिनेछ। नेतृत्वबाट अनुमोदन भएपछि त्यसकै आधारमा एमालेले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनसम्बन्धी कार्यक्रमलाई देशव्यापी रूपमा कार्यान्वयन गर्ने तयारी गरेको छ। पार्टीले यस अभियानलाई आगामी संगठनात्मक पुनर्संरचना र राजनीतिक सक्रियताको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने जनाएको छ।
