एमाले पुनर्गठनकाे पक्षमा बढ्दैछ दबाव

khabarwave
२० बैशाख २०८३

काठमाडौं । नेकपा एमालेभित्र पुनर्गठन र रुपान्तरणको माग चर्किंदै जाँदा युवा नेताहरू एकजुट हुन थालेका छन्। मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा आयोजित भेलालाई ‘पुनर्जागरण भेला’ नाम दिइएको थियो, जहाँ नेतृत्व परिवर्तन मुख्य एजेन्डाका रूपमा अघि सारिएको छ।

भेलामा सहभागी नेताहरूका अनुसार पार्टीको हालको अवस्थाको मुख्य कारण नेतृत्वको कार्यशैली रहेको निष्कर्ष निकालिएको छ। उनीहरूले चुनावी पराजय र घट्दो जनसमर्थनलाई गम्भीर रूपमा लिँदै नेतृत्वको “ग्रेसफुल एक्जिट” आवश्यक भएको बताएका छन्।

अध्यक्ष केपी शर्मा ओली सहित पहिलो पुस्ताका नेताहरूले मार्गप्रशस्त गर्नुपर्ने, र प्रदेशदेखि जिल्ला तथा जनवर्गीय संगठनसम्म पुनर्गठन गर्नुपर्ने माग उठाइएको छ।

केन्द्रीय सदस्य नरेश रोकाया ले समयमै निर्णय नलिए पार्टीलाई थप क्षति हुने चेतावनी दिए। उनका अनुसार यो आवाज अब दबाउन नसकिने अवस्थामा पुगेको छ।

भेलाले तत्काल केन्द्रीय सचिवालय वा केन्द्रीय कमिटी बैठक बोलाएर नेतृत्वले राजीनामा दिनुपर्ने, हालको संरचना विघटन गरी ५–७ सदस्यीय अन्तरिम समिति गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। उक्त अन्तरिम समितिले पुनर्गठनको जिम्मेवारी सम्हाल्ने र आगामी महाधिवेशनसम्म पार्टीलाई मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।

अर्का एक युवा नेताले अन्तरिम नेतृत्वमा रहने व्यक्तिले आगामी १२औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी नदिने प्रतिबद्धता जनाउनुपर्ने धारणा राखे। साथै आकस्मिक निर्णयका लागि छुट्टै कार्यदल गठन गर्न सकिने सुझाव पनि दिइएको छ।

युवा नेताहरूले संगठित सदस्यता पुनः भौतिक रूपमा वितरण गर्नुपर्ने र एक वर्षभित्र ‘अर्ली महाधिवेशन’ गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूको भनाइमा अहिलेको प्रतिनिधित्व संरचनाबाट समयअनुकूल नेतृत्व चयन सम्भव छैन।

तीन घण्टाभन्दा बढी समय चलेको भेलामा समीक बडाल, झपट रावल, नवीना लामा, रमेश पौडेल, दीपा शर्मा, सुजन कडरिया, कमल जोशी, उपेन्द्र शाही र गजेन्द्र थपलिया लगायतका नेताहरूको सहभागिता रहेको थियो।

यो भेलाले पार्टीभित्र पुस्तान्तरण र संरचनात्मक परिवर्तनको बहसलाई थप तीव्र बनाउने संकेत दिएको छ।

Loading spinner