इरानसँगको युद्धविराम अब भेन्टिलेटरमा

khabarwave
२९ बैशाख २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अब भेन्टिलेटरमा पुगेको टिप्पणी गरेका छन् । उनले अमेरिकाले पूर्ण जित चाहेको समेत उल्लेख गरेका छन् । यसको अर्थ अब इरान र अमेरिकाबीच गत ८ अप्रिलबाट लागू हुने गरी भएको युद्धविराम जुनसुकै बेला तोडेर अमेरिकाले हमला गर्न सक्नेछ । ओभल अफिसमा पत्रकारसँगको कुराकानीका क्रममा ट्रम्पले इरानले गरेको युद्ध अन्त्यको प्रस्ताव ‘कुडा’ भएको टिप्पणी गरे । उनले इरानले अमेरिका दबाबमा आउने र थाक्ने सोचे पनि त्यस्तो नहुने दाबी गरे । इरानले पाकिस्तानी मध्यस्थताका माध्यमबाट अमेरिकालाई शान्ति प्रस्तावको जवाफ पठाएको थियो । यो प्रस्तावमा युद्ध अन्त्य गर्ने, होर्मुज स्ट्रेटको सुरक्षा, परमाणु कार्यक्रम र प्रतिबन्ध हटाउनेजस्ता मुद्दा थिए । ट्रम्पले वासिंगटनले इरानमाथि दबाब बनाइराख्ने र उसका शर्तमा सम्झौता नगर्ने बताएका छन् । ट्रम्पको यो भनाइसँगै अब फेरि अमेरिका र इरानबीच युद्धको सम्भावना बढेको छ । अमेरिका–इरान तनावको असर वैश्विक तेल बजार र होर्मुज स्ट्रेटको सुरक्षामा परिरहेको छ ।

Loading spinner