इरानका विषयमा अमेरिका र चीनको एउटै हो त धारणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीन इरानको विषयमा एउटै धारणा राख्ने बताएका छन् । उनले इरानले छिट्टै सम्झौता गर्नुपर्ने तथा होर्मुज जलडमरू पुनः खुला गर्नुपर्नेमा चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि सहमत भएको दाबी गरेका छन् । बेइजिङ भ्रमणपछि पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानप्रति आफ्नो धैर्यता सकिन लागेको बताए । उनले वार्ताका क्रममा सीले इरानले होर्मुज जलडमरू खुला गर्नुपर्नेमा सहमति जनाएको उल्लेख गरे । ट्रम्पले वासिङ्टनले इरानी तेल खरिद गर्ने चिनियाँ तेल कम्पनीमाथि लगाएको प्रतिबन्ध हटाउने विषयमा पनि विचार गरिरहेको बताए । चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो । तर, ट्रम्पको अभिव्यक्तिले चीनले इरानमाथि प्रभाव प्रयोग गरेर युद्ध अन्त्य गर्न सक्रिय भूमिका खेल्छ वा खेल्दैन भन्ने स्पष्ट संकेत भने दिएको छैन । अमेरिका फर्किने क्रममा विमानमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले सीले इरानमाथि दबाब दिन औपचारिक प्रतिबद्धता जनाएको हो वा होइन भन्ने प्रश्नमा भने, म कुनै सहयोग मागिरहेको छैन, किनकि सहयोग मागेपछि बदलामा सहयोग गर्नुपर्छ । उनले इरानको सैन्य शक्ति लगभग समाप्त भइसकेको दाबी गर्दै केही सफाइको काम मात्रै बाँकी हुन सक्छ भने ।यता, चिनियाँ राष्ट्रपति सीले ट्रम्पसँग इरानबारे भएको छलफल सार्वजनिक रूपमा उल्लेख गरेनन् । तर चीनको विदेश मन्त्रालयले भने इरान युद्धप्रति असन्तुष्टि जनाउँदै कडा वक्तव्य जारी गरेको छ । ‘यो द्वन्द्व कहिल्यै शुरू हुनै नहुने थियो र अब यसलाई निरन्तरता दिनुपर्ने कुनै कारण छैन’, चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानमाथि आक्रमण शुरू गरेपछि इरानले अधिकांश जलमार्ग यातायातका लागि होर्मुज जलडमरू प्रभावकारी रूपमा बन्द गरेको थियो । त्यसले विश्व ऊर्जा आपूर्तिमा अभूतपूर्व अवरोध सिर्जना गरेको बताइएको छ । गत महिना अमेरिकाले इरानमाथिका प्रत्यक्ष आक्रमण रोके पनि इरानी बन्दरगाहमाथि नाकाबन्दी सुरु गरेको थियो । त्यसपछि तेहरानले अमेरिकाले नाकाबन्दी नहटाएसम्म जलडमरू नखोल्ने चेतावनी दिएको थियो । ट्रम्पले भने इरान सम्झौतामा नआए पुनः आक्रमण गर्ने चेतावनी दिएका छन् । बेइजिङमा सीसँगै बसेर ट्रम्पले भने, ‘हामी इरानसँग परमाणु हतियार नहोस् भन्ने चाहन्छौं, साथै जलडमरूय खुला होस् भन्ने चाहन्छौं ।’ इरानी विदेशमन्त्री अब्बास अराघचीले भने अमेरिकाबाट वार्ता जारी राख्न चाहेको संकेत प्राप्त भएको बताएका छन् । नयाँ दिल्लीमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘वार्ता अघि बढ्दै जाँदा होर्मुज जलडमरू पूर्ण रूपमा सुरक्षित हुने र आवतजावत सामान्य बनाउन सकिने निष्कर्षमा पुग्ने आशा गरेका छौं ।’ इरानले आफू परमाणु हतियार बनाउन नचाहेको दाबी गर्दै आएको छ । तर उसले आफ्नो परमाणु कार्यक्रम अन्त्य गर्न वा संवर्द्धित युरेनियमको गोप्य भण्डार त्याग्न अस्वीकार गर्दै आएको छ, जसले ट्रम्प प्रशासनलाई निराश बनाएको छ । फक्स न्युजको ‘हानिटी’ कार्यक्रममा बिहीबार प्रसारित अन्तर्वार्तामा ट्रम्पले भने, ‘म अब धेरै धैर्य गर्नेवाला छैन । उनीहरूले सम्झौता गर्नुपर्छ ।’ उनले संवर्द्धित युरेनियम अमेरिकाको नियन्त्रणमा लिनु मुख्यतः जनसम्पर्कका लागि आवश्यक भएको पनि संकेत गरेका छन् । द्वन्द्व समाधानतर्फ प्रगति नदेखिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ३ प्रतिशतले बढेर प्रतिव्यारेल १०९ डलर नजिक पुगेको छ । ट्रम्प र सीबीच बिहीबार भएको वार्तापछि ह्वाइट हाउसले चीनले होर्मुज जलडमरूमध्य प्रयोगबापत इरानले शुल्क उठाउने कुनै प्रयासको विरोध गरेको जनाएको छ । ट्रम्पका अनुसार सीले इरानलाई सैन्य सामग्री नपठाउने वाचा पनि गरेका छन् ।
