आयात बढ्दा पनि किन हटेन ग्यास अभाव?

आयात बढ्दा पनि किन हटेन ग्यास अभाव?

khabarwave
१९ श्रावण २०८३

काठमाडौं । पछिल्लो दुई सातामा करिब ३० हजार मेट्रिक टन खाना पकाउने (एलपी) ग्यास नेपाल भित्रिएको छ। उद्योगीहरूका अनुसार हाल दैनिक औसत १०० भन्दा बढी बुलेट ग्यास आयात भइरहेको छ, जुन सामान्य अवस्थाको आवश्यकताभन्दा बढी हो। तर पर्याप्त आयात हुँदाहुँदै पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा उपभोक्ता ग्यासका लागि लाइन बस्न बाध्य छन्।

नेपाल आयल निगमको टेकुस्थित पुरानो कार्यालय परिसरमा दैनिक ग्यास सिलिन्डर साट्न आउने उपभोक्ताको भीड लाग्ने गरेको छ। स्थानीय डिलर तथा पसलमा ग्यास सहज रूपमा उपलब्ध नभएपछि उपभोक्ताले सास्ती खेपिरहेका छन्।

एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म करिब ३० हजार मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ। यही दर कायम रहे साउन महिनाभरमा करिब ५० हजार मेट्रिक टनसम्म ग्यास आयात हुन सक्ने उनको अनुमान छ।

उनका अनुसार अहिले दैनिक औसत १०५ वटा र केही दिन १२५ वटासम्म ग्यास बोकेका बुलेट नेपाल भित्रिएका छन्। सामान्य अवस्थामा दैनिक ८० देखि ९० वटा बुलेट पर्याप्त हुने भए पनि यसपटक आयात बढ्दा पनि बजार सहज हुन सकेको छैन।

उद्योगीहरूले अहिलेको मुख्य समस्या ग्यासको अभाव नभई खाली सिलिन्डर व्यवस्थापन रहेको बताएका छन्। १४.२ केजीको सिलिन्डर पुनः सहज भएपछि लामो समयदेखि घरमा थन्किएका खाली सिलिन्डर एकैपटक बजारमा आउँदा वितरण प्रणालीमा असामान्य चाप परेको उनीहरूको भनाइ छ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पनि बजारमा देखिएको समस्या आपूर्तिको नभई मागको चाप व्यवस्थापनसँग सम्बन्धित रहेको बताए। उनका अनुसार नेपालमा मासिक औसत ४५ हजार मेट्रिक टन ग्यास खपत हुने गर्छ र सोहीअनुसार आयात भइरहेको छ।

निगमका तथ्यांकअनुसार फागुनमा ५१ हजार, चैतमा ३८ हजार, वैशाखमा ३२ हजार, जेठमा ३३ हजार र असारमा करिब ४४ हजार मेट्रिक टन ग्यास आयात भएको थियो। साउन १५ गतेसम्म मात्रै २६ हजार मेट्रिक टन ग्यास भित्रिसकेको निगमले जनाएको छ।

निगमका अनुसार १४.२ केजीको सिलिन्डर पुनः सहज भएपछि धेरै उपभोक्ताले एकैपटक खाली सिलिन्डर साट्न थालेकाले बजारमा चाप बढेको हो। केही उपभोक्ताले ७.१ केजीको सिलिन्डर प्रयोग गर्दा पनि अपेक्षित चाप (प्रेसर) नपाएको गुनासो आएपछि त्यसबारे समेत निगरानी भइरहेको निगमले जनाएको छ।

खुद्रा डिलरमार्फत ग्यास सहज रूपमा उपलब्ध नभएपछि टेकुस्थित निगमको पुरानो कार्यालय परिसरबाट नेपाल ग्यास, एभरेस्ट, सुगम, एचपी र श्रीराम ग्यासलगायत कम्पनीहरूले प्रत्यक्ष वितरण गरिरहेका छन्। निगमले भने आफूले ग्यास बिक्री नगरेको स्पष्ट पार्दै उपभोक्ताको सहजताका लागि उद्योगहरूलाई मात्र स्थान उपलब्ध गराएको जनाएको छ।

सरकारी र निजी क्षेत्रका तथ्यांकले ग्यासको आयात पर्याप्त रहेको देखाए पनि उपभोक्ताले भोगिरहेको समस्या भने वितरण प्रणालीको कमजोरीतर्फ संकेत गर्छ। पर्याप्त आपूर्ति मात्रै पर्याप्त नहुने, खाली सिलिन्डरको प्रभावकारी व्यवस्थापन, वितरण सञ्जालको सुदृढीकरण र बजार अनुगमनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता अहिलेको अवस्थाले स्पष्ट पारेको छ।

Loading spinner