आजदेखि नयाँ दिल्लीको सडकमा कक्रोच जनता पार्टीको प्रदर्शन
भारतमा सामाजिक सञ्जालमार्फत उदाएको ‘कक्रोच जनता पार्टी (सीजेपी)’ ले आफ्नो राजनीतिक सक्रियता तीव्र बनाउँदै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई दबाब दिन थालेको छ।
सामाजिक सञ्जालबाटै लोकप्रिय बनेको यो समूहले आज नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने भएको छ। शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध केन्द्रित उक्त प्रदर्शनमार्फत परीक्षा अनियमितता लगायतका विषयमा राजीनामाको माग उठाइने जनाइएको छ।
सीजेपीको स्थापना अमेरिका अध्ययनरत अभिजित डिप्केले गरेका हुन्। बोस्टन विश्वविद्यालयका ३० वर्षीय स्नातक डिप्के युवालाई लक्षित गर्दै यो अभियान अघि बढाइरहेका छन्। उनी हालै आन्दोलनका लागि दिल्ली पुगेका छन्।
यो अभियानको सुरुवात सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले बेरोजगार युवालाई ‘कक्रोच’ सँग तुलना गरेको टिप्पणीपछि भएको बताइन्छ। उक्त टिप्पणीप्रति असन्तुष्टि जनाउँदै डिप्केले यो अभियान थालेका हुन्, जसले छोटो समयमै अनपेक्षित लोकप्रियता हासिल गरेको छ।
अभिजित यसअघि आम आदमी पार्टीसँग राजनीतिक सञ्चार रणनीतिकारका रूपमा पनि जोडिएका थिए।
सीजेपीको सामाजिक सञ्जाल उपस्थिति तीव्र रूपमा बढ्दै गएको बताइन्छ। इन्स्टाग्राममा यसको फलोअर्स संख्या २ करोड २० लाखभन्दा बढी पुगेको दाबी गरिएको छ, जुन भाजपाभन्दा करिब ९० लाख र कांग्रेसभन्दा १ करोड ३० लाख बढी हो।
लद्दाखका अभियन्ता सोनम वाङचुक पनि जन्तर–मन्तरमा हुने प्रदर्शनमा सहभागी हुने अपेक्षा गरिएको छ।
