अर्थमन्त्रीले उद्योगीसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

khabarwave
१२ श्रावण २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका प्रमुख उद्योगी–व्यवसायीसँग बजेट कार्यान्वयन, औद्योगिक समस्या र अर्थतन्त्रका विषयमा विशेष छलफल गर्ने भएका छन्।

अर्थ मन्त्रालयमा अपराह्न ३ बजे हुने छलफलमा उत्पादनमूलक उद्योग सञ्चालन गरिरहेका झन्डै तीन दर्जन उद्योगीको सहभागिता रहने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडी तथा अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा र विभागका अधिकारी सहभागी हुनेछन्।

बैठकमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, निजी क्षेत्रका समस्या, औद्योगिक वातावरण सुधार, लगानी विस्तार तथा नीतिगत सहजीकरणका विषयमा उद्योगीहरूको सुझाव संकलन गरिनेछ।

यसअघि प्रधानमन्त्री बालेन शाहले विभिन्न उद्योगी–व्यवसायी र सरोकारवालासँग छुट्टाछुट्टै छलफल गरेका थिए। त्यसक्रममा अर्थमन्त्री सहभागी नगराइएको विषय सार्वजनिक चर्चाको विषय बनेको थियो।

यसैबीच अर्थमन्त्री वाग्लेले उद्योग मन्त्रालयसँग समन्वय गर्दै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले निजी क्षेत्रसँग प्रत्यक्ष संवाद अघि बढाएका हुन्।

सुस्त अर्थतन्त्र, उत्पादन क्षेत्रको सुस्त गति, लगानी विस्तारमा देखिएका चुनौती तथा नीतिगत जटिलताका बीच सरकारले बजेटका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै निजी क्षेत्रसँग सहकार्य बढाउने तयारी गरेको छ।

Loading spinner