ह्वाइट हाउस नजिक गोलीकाण्ड, सुरक्षाकर्मीको जवाफी कारबाहीमा बन्दुकधारीको मृत्यु

khabarwave
१० जेष्ठ २०८३

वासिङ्टन । अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस नजिकै शनिबार साँझ भएको गोलीकाण्डमा एक संदिग्ध बन्दुकधारी मारिएका छन् भने एक सर्वसाधारण घाइते भएका छन्।

अमेरिकी सेक्रेट सर्भिसका अनुसार साँझ करिब ६ बजेपछि १७औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु आसपासको क्षेत्रमा एक व्यक्तिले झोलाबाट हतियार निकालेर अन्धाधुन्ध गोली चलाउन थालेका थिए। घटनालगत्तै सुरक्षामा खटिएका एजेन्टहरूले जवाफी कारबाही गरेका थिए।

जवाफी फायरका क्रममा गोली लागेर गम्भीर घाइते भएका संदिग्धलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

घटनामा एक सर्वसाधारण पनि घाइते भएका छन्। यद्यपि, सेक्रेट सर्भिसका कुनै पनि अधिकारी घाइते नभएको जनाइएको छ।

गोलीकाण्ड भएको समयमा अमेरिकी राष्ट्रपति ह्वाइट हाउसभित्रै रहेको पुष्टि गर्दै सेक्रेट सर्भिसले राष्ट्रपतिको सुरक्षामा कुनै असर नपरेको जनाएको छ। साथै, सुरक्षा सञ्चालन र संरक्षित व्यक्तिको सुरक्षामा समेत कुनै अवरोध नआएको उल्लेख गरिएको छ।

गोली चल्न थालेपछि ह्वाइट हाउस आसपासको क्षेत्रमा केही समय त्रासको अवस्था सिर्जना भएको थियो। ह्वाइट हाउसको उत्तरी क्षेत्रमा प्रत्यक्ष प्रसारणको तयारी गरिरहेकी एबीसी न्युजकी पत्रकार सेलिना वाङले पनि गोलीको आवाज सुनेपछि सुरक्षाका लागि तत्काल सुरक्षित स्थानतर्फ जान निर्देशन पाएको बताएकी छन्। उनले उक्त घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।

सेक्रेट सर्भिसले जारी गरेको विज्ञप्तिमा घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक विवरण प्राप्त भएपछि सार्वजनिक गरिने जनाएको छ। अधिकारीहरूले घटनाको कारण, बन्दुकधारीको पहिचान तथा सम्भावित उद्देश्यबारे अनुसन्धान अघि बढाइएको बताएका छन्।

Loading spinner