हिरासतबिनै दुर्गा प्रसाईं रिहा, अदालतले बाहिरै राखेर अनुसन्धान गर्न दियो अनुमति

khabarwave
१९ श्रावण २०८३

भक्तपुर । राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईंलाई जिल्ला अदालत भक्तपुरले हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार अदालतको आदेशपछि प्रसाईंलाई रिहा गरिएको हो।

प्रसाईंविरुद्ध साइबर अपराध, राज्यविरुद्धको कसुर, सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर सम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले म्याद थपको माग गरेको थियो।

जिल्ला अदालत भक्तपुरले ती मुद्दामा हिरासतमा राख्न आवश्यक नदेखिएको भन्दै प्रसाईंलाई बाहिरै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो।

अदालतको आदेशसँगै प्रसाईं रिहा भएका छन् भने उनीमाथिका विभिन्न कसुरसम्बन्धी अनुसन्धान भने जारी रहने प्रहरीले जनाएको छ।

Loading spinner