सुनसरीमा सर्वपक्षीय सहमति : शान्ति, सद्भाव र संयम कायम गर्न पाँचबुँदे प्रतिबद्धता

khabarwave
१४ श्रावण २०८३

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै बसेको सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सद्भाव र अमनचयन कायम राख्न पाँचबुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेको छ।

बुधबार साँझ बसेको बैठकमा राजनीतिक दल, सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला पक्षका प्रतिनिधिहरू सहभागी भएका थिए। बैठकले जिल्लामा शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै पक्ष एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

संयुक्त वक्तव्यमा कप्तानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

बैठकले साम्प्रदायिक तनाव र हिंसात्मक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आक्रोश र प्रतिशोधको भावनाभन्दा संयम, विवेक र संवादमार्फत समस्या समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ। आम नागरिकलाई पनि शान्त रहन र कुनै पनि उत्तेजनात्मक गतिविधिमा सहभागी नहुन अपिल गरिएको छ।

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री नपोस्ट गर्न, नसेयर गर्न र आधिकारिक स्रोतबाट आएका सूचनामात्र विश्वास गर्न आग्रह गरिएको छ। साथै, हिंसात्मक भिडभाडमा युवाको संलग्नता देखिएकाले अभिभावकलाई आफ्ना बालबालिकाप्रति विशेष निगरानी राख्न र उनीहरूलाई यस्ता गतिविधिबाट टाढा राख्न अनुरोध गरिएको छ।

बैठकमा सहभागी सम्पूर्ण सरोकारवाला प्रतिनिधिहरूले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै सुनसरीमा स्थायी शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सामूहिक रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Loading spinner