रास्वपा महाधिवेशन सुरक्षाका लागि १ हजार ८७ प्रहरी परिचालन
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै चितवनमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। महाधिवेशनको सुरक्षाका लागि नेपाल प्रहरीले १ हजार ८७ जना प्रहरी परिचालन गर्ने भएको छ।
असार ७ देखि ९ गतेसम्म भरतपुरमा सञ्चालन हुने महाधिवेशनलाई मध्यनजर गर्दै खुला तथा बन्दसत्रका लागि छुट्टाछुट्टै सुरक्षा रणनीति तयार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार महाधिवेशन अवधिभर सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिनेछ। उनले कार्यक्रम स्थल, आवागमन मार्ग तथा विशिष्ट व्यक्तिको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा योजना बनाइएको जानकारी दिए।
महाधिवेशनका क्रममा ट्राफिक व्यवस्थापनलाई समेत विशेष प्राथमिकता दिइएको छ। एसपी पौडेलका अनुसार सवारी चाप व्यवस्थापनका लागि १६५ जना ट्राफिक प्रहरी खटाइएका छन्। सहभागी र सवारीसाधनको अत्यधिक चापलाई ध्यानमा राख्दै विभिन्न स्थानमा पार्किङ व्यवस्थासमेत मिलाइएको छ।
प्रहरीले भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पस पछाडिको चौर तथा केन्द्रीय बसपार्क क्षेत्रमा ठूला सवारीसाधन पार्किङ गर्ने व्यवस्था गरेको जनाएको छ। यसले मुख्य सडकमा हुने ट्राफिक दबाब कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
रास्वपा चितवनका सभापति मिनी माधव खनालका अनुसार महाधिवेशनको बन्दसत्रमा करिब ३ हजार ५०० देखि ४ हजार प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ। यस्तै उद्घाटन सत्रमा देशभरबाट स्वतःस्फूर्त रूपमा ४० हजारभन्दा बढी समर्थक तथा कार्यकर्ता सहभागी हुने अपेक्षा पार्टीले गरेको छ।
रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको भावी नेतृत्व चयन, संगठन विस्तार तथा नीतिगत दिशा तय गर्ने महत्वपूर्ण राजनीतिक कार्यक्रमका रूपमा हेरिएको छ। ठूलो संख्यामा सहभागी हुने अनुमानका बीच सुरक्षा निकायले कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाएको जनाएको छ।
