युवराजलाई ५० हजार धरौटीमा छाड्ने आदेश
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका युवराज पौडेल (सफल)लाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश कौशलेश्वर ज्ञवालीको इजलासले सो आदेश गरेको हो । पौडेल यसअघि हाजिरी जमानीमा छुटेका थिए । आज थुनछेक आदेश गर्दै अदालतले धरौटी रकम बुझाएर तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न भनेको छ । धरौटी बुझाउन नसकेको खण्डमा उनलाई थुनामा पठाउन न्यायाधीशले भनेका छन् । पौडेल विरुद्ध नेपाल सरकारले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा मुद्दा दायर गरेको थियो । उनले महान्यायाधिवक्ताको मानमर्दन हुने, घृणा र द्वेष फैलाउने खालका भ्रामक भिडियो सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप प्रहरी प्रतिवेदनमा उल्लेख छ । अदालतमा बयान दिने क्रममा प्रतिवादी पौडेलले गल्ति महसुुस गर्दै माफी मागेका थिए । रवि लामिछाने विरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरू महान्यायाधिवक्ताको कार्यालयले फिर्ता लिन खोजेको सुनेपछि ‘आवेगमा आएर’ बोलेको उनले स्वीकार गरेका छन् । विवादित भिडियोहरू सामाजिक सञ्जालबाट हटाइसकेको जानकारी समेत पौडेलले दिएका थिए । अदालतले पौडेलको साबिती बयान, उनले व्यक्त गरेको पश्चाताप र कसुरको प्रकृतिलाई मध्यनजर गर्दै तत्काल पुर्पक्षका लागि थुनामा राखिरहनु नपर्ने ठहर गरेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम अदालतले धरौटी माग गर्ने निर्णय गरेको हो । यसअघि प्रहरीले पौडेलले सामाजिक सञ्जालमा राखेका भिडियोहरू र अन्य प्राविधिक प्रमाणका आधारमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध कानुनी कारबाही अघि बढाएको थियो । अब यो मुद्दाको अन्तिम फैसला नभएसम्म उनी तारेखमा रहेर कानुनी लडाईँ लड्नेछन् । महान्याधिवक्ता सविता भण्डारीलाई लक्षित गर्दै अपशब्द बोलेको आरोपमा सफल माघ १३ मा पक्राउ परेका थिए । महान्यायाधिवक्ताले रकम लेनदेन गरेर मुद्दा फिर्ता लिने गरेको अपुष्ट आरोप उनले लगाएका थिए । प्रहरीले उनलाई माघ १४ मा हाजिरी जमानीमा छोडेको थियो ।
