युद्ध भड्किने इरानको चेतावनी
इरानका उच्च अधिकारीहरूले अमेरिका र खाडी मुलुकलाई पुनः युद्ध भड्किन सक्ने चेतावनी दिएका छन् । यसबीच अमेरिकी तथा इजरायली सैन्य तयारीबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका रिपोर्टपछि मध्यपूर्वमा तनाव फेरि बढ्ने संकेत देखिएको छ । इस्लामिक रिपब्लिक अफ इरानका सर्वोच्च नेता सुप्रिम लिडरका सल्लाहकार मोहम्मद मोखबरले हालै खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमण अत्यन्त संयमित रहेको बताएका छन् ।उनले भनेका छन्, ‘हालको युद्धमा सेन्टकम ९अमेरिकी सेन्ट्रल कमाण्ड०का अड्डामाथि हाम्रो प्रतिकारात्मक हमला सीमित थियो, तर यो संयम सधैं कायम रहँदैन ।’ मोखबरले खाडी मुलुकहरूले आफ्नो स्वतन्त्रता शत्रुहरूको जिम्मा लगाएको आरोप समेत लगाएका छन् । यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्सँग निकट सञ्चारमाध्यम नूरन्युजले एक वरिष्ठ सैन्य अधिकारीलाई उद्धृत गर्दै इरानमाथि पुनः हमला भए यसअघि निशाना नबनाइएका लक्ष्यहरूलाई प्राथमिकतामा राखिने चेतावनी दिएको छ । यसअघि ‘न्युयोर्क टाइम्स’ले मध्यपूर्वका दुई अज्ञात अधिकारीलाई उद्धृत गर्दै अमेरिका र इजरायलले इरानमाथि पुनः सैन्य कारबाहीको सम्भावनाबारे छलफल गरिरहेको जनाएको थियो । रिपोर्टअनुसार सम्भावित हमला आगामी सातासम्म शुरू हुन सक्ने अनुमान गरिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनसँग विभिन्न परिस्थितिका लागि सैन्य योजना तयार रहेको अमेरिकी रक्षा मन्त्रीले कांग्रेसका सांसदहरूलाई जानकारी दिएका छन् । आवश्यक परे युद्ध पुनः शुरू गर्ने तथा क्षेत्रबाट सेना फिर्ता बोलाउने विकल्प पनि ती योजनामा समावेश रहेको जनाइएको छ । ‘न्युयोर्क टाइम्स’का अनुसार सम्भावित अमेरिकी योजनामा इरानका सैन्य अड्डा र पूर्वाधारमाथि व्यापक बमबारी गर्ने वा जमिनबाट विशेष अभियान सञ्चालन गरी युरेनियम भण्डार नियन्त्रणमा लिने विकल्प रहेका छन् । डोनाल्ड ट्रम्पको हालैको चीन भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ताबाट पनि इरान युद्ध तथा होर्मुज जलडमरूको विषयमा कुनै ठोस निष्कर्ष ननिस्किएपछि क्षेत्रीय तनाव झन् बढेको विश्लेषण गरिएको छ । चीन भ्रमणअघि ट्रम्पले इरानलाई अमेरिकासँग सम्झौता गर्नुपर्ने अन्यथा नष्ट गरिने चेतावनी दिएका थिए । उनले इरानसँगको युद्धविरामलाई पनि अत्यन्त नाजुक भनेका छन् । ट्रम्पको अभिव्यक्तिपछि इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले इरानी सशस्त्र बल अर्को पक्षको आक्रामकताको जवाफ दिन तयार रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हामी हरेक विकल्पका लागि तयार छौं । हामी उनीहरूलाई चकित पार्नेछौं ।’ यसैबीच, पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी अचानक तेहरान पुगेका छन् । इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार उनले इरानी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । इरान र अमेरिकाबीच कायम युद्धविराममा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ । यसअघि पाकिस्तानले वरिष्ठ इरानी र अमेरिकी अधिकारीबीच शान्तिवार्ताको आयोजना समेत गरेको थियो । तर ती वार्ताबाट हालसम्म कुनै ठोस परिणाम निस्किएको छैन । उता, इरानी सरकारी टेलिभिजनले युरोपेली देशहरूले आफ्ना जहाजलाई होर्मुज जलडमरूबाट आवतजावत अनुमति दिन इरानसँग वार्ता गरिरहेको जनाएको छ । इरानले अमेरिका र इजरायलसँग युद्ध शुरू भएपछि होर्मुज जलडमरूलाई लगभग बन्द गरेपछि विश्वव्यापी तेल तथा ग्यास बजारमा ठूलो असर परेको छ । विश्वको करिब पाँचौं हिस्सा तेल तथा एलएनजी आपूर्ति यही समुद्री मार्ग हुँदै हुने गर्दछ ।
