महाधिवेशनको तयारीमा राप्रपा

khabarwave
२ जेष्ठ २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन कार्यतालिका प्रस्ताव गर्न नेताहरूलाई जिम्मेवारी दिएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठक उपाध्यक्ष हेमजंग गुरूङ, महामन्त्री धवल शमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाल लगायतलाई महाधिवेशन कार्यतालिका प्रस्तावित गर्न जिम्मेवारी दिएको अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ। साथै बैठकले आगामी जेठ २८ र २९ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय पनि गरेको छ। महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले प्रस्तुत गरेको निर्वाचनका सम्बन्धमा सातवटै प्रदेशमा भएको समीक्षा बैठकको सुझाव सहितको प्रतिवेदनलाई परिमार्जन सहित आगामी कार्यसम्पादन बैठकमा र त्यसपछि केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने निर्णय पनि भएको छ। प्रतिनिधिसभाको निर्वाचनका कारण यसअघि स्थगित गरिएको पार्टीको जिल्ला, स्थानीय र सबै तहको अधिवेशन पुन सुचारू गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए। निकट भविष्यमा पार्टीको महाधिवेशन हुने भएकाले विधान बमोजिम सबै स्थानीय तह, क्षेत्र, प्रदेशसभा क्षेत्र, जिल्ला एवं प्रदेशको अधिवेशनमा तदारुकताका साथ जुट्न पार्टी पंक्तिलाई राप्रपाले आह्वान गरेको छ। संविधान संशोधनका लागि बहसपत्र निर्माण कार्यदलले पार्टीसँग माग गरेको सुझावका लागि सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी प्रदान गरिएको उनले बताए। राप्रपाले पार्टीको स्थापित मान्यता र घोषणापत्रको स्पिरिट अनुसार संविधान संशोधनको सुझाव पेस गर्ने तयारी छ।

Loading spinner