भारतीय विदेशसचिव मिश्रीको भ्रमण किन रोकियो ?

khabarwave
२७ बैशाख २०८३

काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्री नेपाल भ्रमण आउने तय भएको थियो, २८ वैशाखका लागि । केही दिनअघिमात्रै विदेश सचिव मिश्रीको भ्रमण स्थगित भएको सार्वजनिक भयो । यद्यपि, नेपाल र भारत दुवै पक्षले भ्रमणबारे औपचारिक रूपमा बताएका थिएनन् र स्थगित भएको पनि उल्लेख गरेका छैनन् । अनौपचारिक सूचनाका आधारमा मिश्रीको भ्रमणबारे चर्चा भइरहेको छ । विदेशसचिव मिश्रीको भ्रमणबारे चैत २०८२ मा नै बाहिर आएको थियो । विदेश सचिव मिश्री दुई कारणले नेपाल आउन लागेका थिए । एक, प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०लाई भारत भ्रमणका लागि निम्ता दिन । दुई, नेपालको विकसित राजनीति घटनाबारे सरकारी धारणा बुझ्ने । गत २१ फागुनको चुनावी नतिजासँगै फेरिएको नेपालको आन्तरिक राजनीतिमा भारतले निकै चासो राखिरहेको छ । चुनावअघि भारतले अहिलेको नतिजाको आंकलन गरिसकेको थियो । र, भारतीय अधिकारीहरूले चुनावअघि नै भारतीय दूतावासमा आयोजित भेलामा सो कुरा सेयरमात्र गरिरहेका थिएनन, बालेनसँग काम गर्न आतुर रहेको संकेत गरेका थिए । यद्यपि, भारतले बालेनलाई अनुमान गर्न नसकिने नेता अर्थात अनप्रेडिक्टेबल लिडरको रूपमा भने लिने गरेका छन् । त्यसैले, भारत बालेनसँग इन्गेजमेन्ट बढाउन खोजिरहेको छ । भारत बालेनको भ्रमण गराएर नेपालसँग नयाँ सम्बन्ध विस्तारमात्र होइन, नयाँ सरकारको नीति बुझ्न चाहन्छ । त्यही अर्थमा विदेशसचिव मिश्री बालेनका लागि भ्रमण निम्ता कार्ड बोकेर आउन लागेका थिए । तर, बालेनसँग मिश्रीको भेट भने तय हुन सकेन् । कूटनीति च्यानलबाट भएका पछिल्ला प्रयासमा बालेनले प्रष्ट जवाफ नदिएको स्रोतहरूले उल्लेख गरेका छन् । अमेरिकी राष्टपति डोनाल्ड टम्पका विशेष दूत सर्जियो गोरलाई नभेटेका बालेनले मिश्रीलाई भेट्ने सम्भावना कम थियो । एकातिर गोरसँग नभेटेका बालेनले मिश्रीसँग भेट्छन् भन्ने ग्यारेन्टी थिएन । अर्कातिर कूटनीतिक च्यानलबाट भएको छलफलमा पनि बालेनले प्रष्ट जवाफ दिएका थिएनन । भारत भ्रमणको निम्ता बोकेर आउने विदेशसचिवले प्रधानमन्त्रीलाई निम्ता कार्ड दिन नपाउने भएपछि भारतले मिश्रीको भ्रमण स्थगित गराएको विश्लेषण छ । विदेशसचिव मिश्रीको भ्रमण स्थगित हुने पहिलो कारण निम्ता कार्ड बालेनलाई भेटेर दिने ग्यारेन्टी नहुनु हो । दोस्रो कारण भने, लिपुलेक सीमा प्रकरण हो । परराष्टमन्त्री शिशिर खनाल मौरिससको भ्रमणमा नै मिश्रीको नेपाल भ्रमणबारे अनौपचारिक छलफल भएको थियो । त्यतिबेला सीमा विवादमा नेपालको औपचारिक धारणा बाहिर आइसकेको थिएन । चीन र भारतले लिपुलेक नाकाबाट व्यापार गर्ने सहमति बालेन प्रधानमन्त्री हुनुभन्दाअघि नै बाहिरिएको थियो । जब नेपालले लिपुलेकबारे औपचारिक धारणा परराष्ट मन्त्रालयमार्फत सार्वजनिक गर्‍यो, लगत्तै भारतले प्रतिवाद गर्‍यो । अनि, मिश्रीको भ्रमण पनि स्थगित भयो । अहिले मिश्रीको भ्रमण स्थगितको विषयलाई धेरैले सार्वजनिक चासोका साथ हेरेका छन् । यसलाई केही कूटनीतिज्ञ तथा भूराजनीतिक विश्लेषकले बालेनको नेपाल र भारतको सम्बन्धको नीति कस्तो हुनेछ भन्ने चासोमा केन्द्रित देखिएका छन् ।

Loading spinner