बिहीबारसम्म देशभर भारी वर्षाको सम्भावना
काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय बन्दै गएसँगै आगामी बिहीबारसम्म विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले तीन दिने विशेष मौसम बुलेटिन जारी गर्दै नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो।
महाशाखाका अनुसार आज (असार १६ गते) देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
बुधबार देशभर पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। तराईका केही क्षेत्रमा हावाहुरीको जोखिम पनि रहनेछ।
यस्तै, बिहीबार पनि देशभर मौसम पूर्णतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै मधेस प्रदेशका केही स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना कायमै रहने विभागले जनाएको छ।
महाशाखाले विशेषगरी कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र मधेस प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा पहिरो, भूक्षय तथा गेग्रान बहाव र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने चेतावनी दिएको छ।
साथै, नदी तथा खोलामा जलसतह बढ्न सक्ने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, यात्रा गर्दा मौसमको अद्यावधिक जानकारी लिन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न महाशाखाले आग्रह गरेको छ।
