प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा रास्वपा सांसदहरू अप्ठेरोमा

khabarwave
२२ जेष्ठ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते संसदमा सीमासम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू अप्ठेरो अवस्थामा परेका छन्।

विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिको कडा विरोध जनाउँदै तत्काल सच्याउन र माफी माग्नुपर्ने माग अघि सारेका छन्। यस विवादका कारण प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदन नियमित कार्यसूचीमा प्रवेश गर्न सकेका छैनन्।

संवैधानिक तथा कूटनीतिक क्षेत्रका विज्ञ र पूर्वपरराष्ट्रमन्त्रीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अपरिपक्व र विवादास्पद भन्दै आलोचना गरेका छन्।

यस विषयमा रास्वपा सांसदहरूको धारणा बुझ्दा अधिकांशले खुला रूपमा प्रतिक्रिया दिन चाहेनन्। केही सांसदहरूले प्रधानमन्त्रीले नयाँ बहस उठाएको भन्दै विषयलाई पन्छाएका छन् भने केहीले पार्टीलाई रक्षात्मक अवस्थामा पुर्‍याएको स्वीकार गरेका छन्।

रास्वपाका एक पदाधिकारीसमेत रहेका सांसदले प्रधानमन्त्रीको तयारी कमजोर रहेको टिप्पणी गरे। उनका अनुसार सीमासम्बन्धी विषयमा अप्रमाणित कुरा सार्वजनिक रूपमा नबोल्नुपर्ने धारणा धेरै सांसदहरूको छ।

उनले भने, “प्रधानमन्त्री संसदमा आउने तरिका नै ठीक थिएन। पर्याप्त तयारी थिएन। दुई–तीन प्रश्नमध्ये एउटा मात्र जवाफ दिनुभयो। तयारीबिना आएर स्टन्ट गर्न खोजेजस्तो देखियो, अन्ततः आफैं चिप्लिनुभयो।”

अर्का सांसदले शब्द चयनमा सावधानी नअपनाइएकाले समस्या उत्पन्न भएको बताए। उनका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको मुख्य विषय नै ओझेलमा परेको छ।

सुदूरपश्चिम र मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केही सांसदहरूले प्रधानमन्त्रीको भनाइले विषयान्तर भएको बताएका छन्। उनीहरूका अनुसार अभिव्यक्तिले पार्टीलाई रक्षात्मक अवस्थामा पुर्‍याएको छ र असन्तुष्टि पनि बढाएको छ।

बारा–२ का सांसद चन्दनकुमार सिंहले प्रधानमन्त्रीले उठाएको विषयको स्पष्टिकरण उनैले दिनुपर्ने बताए।

उनले भने, “कतैबाट सुनेको आधारमा भनिएको होला, तर त्यसको प्रमाण पनि उहाँले नै दिनुपर्छ। यसको जवाफ हामीले दिएर हुँदैन।”

कञ्चनपुर–१ का सांसद जनकसिंह धामीले प्रधानमन्त्रीको अभिव्यक्ति विवादास्पद भएको उल्लेख गर्दै बोलेका शब्द र आधार स्पष्ट हुनुपर्नेमा जोड दिए।

मोरङ–४ का सांसद सन्तोष राजवंशीले पनि विषयको थप प्रस्टिकरण प्रधानमन्त्रीबाटै आउनुपर्ने धारणा राखे।

नवलपरासी–२ का सांसद नरेन्द्रकुमार गुप्ताले प्रधानमन्त्रीको भनाइ विवादित भए पनि कार्यकारी तहबाट आएको अभिव्यक्तिलाई पार्टीले डिफेन्ड गर्नुपर्ने अवस्था आएको बताए।

उनले भने, “प्रधानमन्त्रीले बोलेको विषयमा हामीले खुलेर जवाफ दिन सक्ने अवस्था छैन। यसबारे औपचारिक छलफल पनि भएको छैन।”

रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अनावश्यक विवाद सिर्जना हुनु दुःखद भएको बताए।

धनुषा–४ का सांसद राजकिशोर महतोले प्रधानमन्त्रीले ग्रेटर नेपाल सम्बन्धी विषय उठाएको भए पनि त्यसलाई सकारात्मक रूपमा लिन सकिने बताए।

महोत्तरी–१ का सांसद प्रमोदकुमार महतोले प्रधानमन्त्रीले छिट्टै स्पष्टिकरण दिने विश्वास व्यक्त गरे।

Loading spinner