प्रधानमन्त्रिज्यू किन संसदबाट पर पर ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको निरन्तर अनुपस्थितिलाई लिएर संसद्मा विवाद चर्किरहेका बेला सभामुख डोलप्रसाद अर्यालले स्वयं भेटेर संसद्मा उपस्थित हुन आग्रह गरेका छन्। तर प्रधानमन्त्री शाहले तत्काल संसद्मा आउन नसक्ने जवाफ दिएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रधानमन्त्री अनुपस्थित भएपछि प्रतिपक्षी दलहरूले उनको उपस्थितिको माग गर्दै बैठक अवरुद्ध गरेका थिए। त्यसपछि सभामुख अर्याल बैठक केही समयका लागि स्थगित गरेर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। संसद् भवनबाट करिब दुई सय मिटरको दूरीमा रहेको कार्यालयमा सभामुखले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका थिए।
स्रोतका अनुसार सभामुखले सांसदहरूसँग हुने नियमित प्रश्नोत्तर कार्यक्रमका लागि संसद्मा उपस्थित हुन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। तर शाहले तत्काल सदनमा जान नसक्ने भन्दै उपयुक्त समयमा उपस्थित हुने जवाफ दिएका थिए। प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया पाएपछि सभामुख अर्याल संसद् भवन फर्किएका थिए।
त्यसपछि बैठक पुनः सञ्चालन भए पनि प्रतिपक्षी दलहरूको विरोध भने जारी रह्यो। श्रमसंस्कृति पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै नाराबाजी गरेका थिए। विरोधका बीच सभामुखले प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री सोबिता अर्याललाई एउटा प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए।
प्रधानमन्त्री शाह राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएलगत्तै संसद्बाट बाहिरिएका थिए। त्यसयता उनी सदनमा उपस्थित नभएको भन्दै विपक्षी दलहरूले लगातार प्रश्न उठाउँदै आएका छन्। नीति तथा कार्यक्रममाथिको छलफल तथा त्यसको जवाफ दिने क्रममा पनि प्रधानमन्त्री अनुपस्थित रहेपछि विपक्षीको असन्तुष्टि थप बढेको छ।
संसद्मा जारी अवरोध र प्रधानमन्त्रीको अनुपस्थितिका कारण राजनीतिक वृत्तमा बहस तीव्र बनेको छ। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्प्रति जवाफदेही हुनुपर्ने माग गरिरहेका छन् भने उनको अनुपस्थितिलाई लिएर सरकारमाथि दबाब बढ्दै गएको छ।
