तमिलनाडुको मुख्यमन्त्री बने विजय थलापति
एजेन्सी । तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले टीभीके प्रमुख विजय थलापतिलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । विजयको शपथग्रहण समारोह आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियममा हुने तय भएको छ । उनले १३ मेभित्र प्रदेशसभामा विश्वासको मत प्रस्तुत गर्नुपर्ने तमिलनाडु लोक भवनले पुष्टि गरेको छ । सरकार गठनका लागि आवश्यक बहुमतभन्दा बढी अर्थात् १२० जना विधायकको समर्थन प्राप्त भएपछि टीभीके नेता विजय राज्यपाल राजेन्द्र अर्लेकरलाई भेट्न लोक भवन पुगेका थिए । राज्यपालसँगको भेटमा विजयले भीसीके र आईयूएमएल पार्टीको समर्थनपत्र बुझाएका थिए । उनले बहुमतको आधारमा सरकार गठनको दाबी प्रस्तुत गरेका हुन् । यसअघि शनिबार साँझ तमिलनाडुमा कांग्रेस, सीपीआई र सीपीएमपछि भीसीके तथा इन्डियन युनियन मुस्लिम लिग ९आईयूएमएल०ले पनि टीभीकेलाई समर्थन गर्ने घोषणा गरेका थिए । भीसीकेका नेता थोल थिरुमावलवनले टीभीके नेता अधव अर्जुनलाई पार्टीको समर्थनपत्र दिएका थिए भने आईयूएमएलले पनि टीभीकेलाई समर्थनपत्र बुझाएको थियो । समर्थनपत्र प्राप्त भएपछि अधव अर्जुनले सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस, वामपन्थी दल र भीसीकेलाई धन्यवाद दिएका थिए । उनले लोकतन्त्रको रक्षा गरिने र जनसमर्थनका आधारमा विजय तमिलनाडुको मुख्यमन्त्री बन्ने बताएका थिए । शुक्रबार टीभीके प्रमुख विजयले राज्यपाल राजेन्द्र अर्लेकरसँग भेट गरी सरकार गठनको दाबी पेश गरेका थिए । राज्यपालसँग उनको यो तेस्रो भेट थियो । राज्यपालसँगको भेटपछि विजयले व्यक्तिगत रूपमा भारतीय कम्युनिस्ट पार्टी सीपीआई र भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका कार्यालयमा पुगेर पार्टी नेताहरूसँग छलफल गरेका थिए । २३४ सदस्यीय तमिलनाडु प्रदेशसभा निर्वाचनमा टीभीकेले १०८ सिट जितेको छ । दुई स्थानबाट निर्वाचित विजयले एउटा सिट छाड्नुपर्ने भएकाले टीभीकेको संख्या १०७ मा झर्नेछ । त्यसपछि प्रदेशसभाको संख्या २३३ मा सीमित हुने र बहुमतका लागि ११७ सदस्यको समर्थन आवश्यक पर्नेछ । कांग्रेसले पाँच सिट जितेको छ भने सीपीआई, सीपीएम, भीसीके र आईयूएमएलले दुई–दुई सिट जितेका छन् । यससँगै टीभीकेको समर्थनमा १२१ सिट पुगेको छ, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा बढी हो ।
