जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागको ७ दिने पुर्जी
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन पुर्जी जारी गरेको छ।
विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा केही विषयमा बयान तथा जानकारी आवश्यक रहेकाले सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो।
विभागले जारी गरेको पुर्जी बुढानीलकण्ठस्थित देउवा निवासमा समेत टाँस गरिएको छ।
यसअघि विभागले शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवालाई पनि उपस्थित हुन बोलाइसकेको थियो। देउवा दम्पतीले भने साउन मसान्तसम्म स्वदेश फर्केर विभागमा उपस्थित हुने जानकारी दिएको बताइएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा विभागले देउवा परिवारसँग सम्बन्धित विषयमा थप छानबिन अघि बढाइरहेको जनाएको छ।
