गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ : सभापति लामिछाने

khabarwave
२४ श्रावण २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूको नेतृत्वमा अघि बढिरहेको सरकारको ‘उडान’लाई निर्धारित गन्तव्यमा सुरक्षित रूपमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सरकारको कामकारबाहीका क्रममा देखिएका उतारचढावलाई जहाजमा आउने टर्बुलेन्ससँग तुलना गर्दै त्यसलाई दुर्घटनाको संकेतका रूपमा नबुझ्न आग्रह गरे।

उनले कठिन परिस्थितिमा पनि सरकारलाई सही दिशामा अघि बढाउने क्षमता रास्वपासँग रहेको दाबी गरे।

‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिँडेका छौँ, कहिलेकाहीँ मौसमले गर्दा टर्बुलेन्स आउन सक्छ। तर हामी गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ, हामी छौँ,’ लामिछानेले भने।

उनका अनुसार यात्राका क्रममा आउने सामान्य अवरोधबाट आत्तिनुपर्ने अवस्था छैन। रास्वपामा परिवर्तनका लागि केही गर्नुपर्छ भन्ने उत्साह बोकेका युवाहरू रहेको भन्दै उनले उनीहरूको सक्रियताले सरकारको यात्रा सफल बनाउन सहयोग पुग्ने बताए।

‘अप्ठ्यारो पर्‍यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ। यो पार्टीमा तपाईंहरूजस्तै केही गरौँ भनेर हुटहुटी बोक्नुभएका युवाहरू हुनुहुन्छ,’ उनले भने।

लामिछानेले रास्वपा नेतृत्वको सरकारले आफूहरूले जनतासामु गरेका प्रतिबद्धताअनुसार काम गरिरहेको दाबीसमेत गरे। सरकार सही नियतका साथ अघि बढिरहेको भन्दै उनले यात्राका क्रममा देखिने सामान्य अवरोधलाई लिएर निराश नहुन आग्रह गरे।

‘यात्रामा हिँडिरहँदा बाटोमा कहिलेकाहीँ बादलका टुक्रामा जहाज छिर्दा जहाज हल्लिन्छ। तर जहाज हल्लियो भन्दैमा लौ जहाज दुर्घटनामा पर्ने भयो कि भनेर डर मान्नुपर्ने पनि हुँदैन,’ उनले भने।

उनले आफूहरूले सुरु गरेको राजनीतिक तथा शासन सुधारको यात्रालाई कुनै पनि परिस्थितिमा निर्धारित गन्तव्यसम्म पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याए।

Loading spinner