कांग्रेस विशेष महाधिवेशन विवाद फेरि सर्वोच्चमा
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद पुनः सर्वोच्च अदालत पुगेको छ। विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिने सर्वोच्च अदालतको आदेश पुनरावलोकन गर्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले निवेदन दर्ता गराएको हो।
सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार बिहीबार देउवा पक्षले वारेसमार्फत पुनरावलोकनको निवेदन दर्ता गरेको छ।
यसअघि न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा बनेको कार्यसमितिलाई वैधानिक मान्यता दिने आदेश जारी गरेको थियो।
उक्त आदेशअघि निर्वाचन आयोगले विशेष महाधिवेशनलाई दिएको मान्यतालाई चुनौती दिँदै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनीहरूले निर्वाचन आयोग, कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका छन्।
अब तीन सदस्यीय इजलासले पुनरावलोकन निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै पुनरावलोकनका लागि अनुमति दिने वा नदिने भन्ने निर्णय गर्नेछ। अनुमति प्राप्त भएमा मात्रै मुद्दाको नियमित सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ।
प्रवक्ता कोइरालाका अनुसार पुनरावलोकन निवेदनमाथि निर्णय गर्ने इजलास महिनामा दुई पटक मात्र बस्ने भएकाले सुनुवाइको मिति भने अझै तय भइसकेको छैन।
