काँग्रेसको विवाद शक्ति संघर्षतिर मोडियो
काठमाडौं । नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनपछि सुरु भएको आन्तरिक विवाद प्रतिनिधिसभा निर्वाचनपछि थप चर्किएको देखिएको छ । संस्थापन पक्ष पार्टी एकताको पक्षमा देखिए पनि इतर समूह भने छुट्टाछुट्टै भेला र शक्ति प्रदर्शनमा सक्रिय बनेको छ ।
विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्व र बाहिरिएको पुरानो नेतृत्वबीचको मतभेद अहिले शक्ति संघर्षको रूपमा विकसित हुँदै गएको छ । सार्वजनिक रूपमा एकताको सन्देश दिइए पनि नेताहरूबीचको दूरी भने झन् बढिरहेको छ ।
पार्टीभित्रको विवाद तत्काल समाधान हुने संकेत देखिएको छैन । बरु, आगामी दिनमा यो अझ गहिरिने आकलन गरिएको छ । दुवै पक्षले एकताको कुरा गरे पनि त्यसका लागि औपचारिक पहल भने प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन ।
नेताहरूबीच बढ्दो अविश्वासकै बीच शनिबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले गृह जिल्ला सुर्खेतमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापा सिंगो पार्टीको सभापति बन्न नसकेको टिप्पणी गरेका थिए ।
खड्काले आफूलाई भेट्न आएका थापालाई पार्टीलाई एकताबद्ध बनाउने दिशामा अघि बढ्न सुझाव दिएको बताए । उनले अहिले पनि थापा ‘सानेपाको मात्रै सभापति’ बनेको आरोप लगाए ।
उनले २३ वैशाखमा सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा सँगको भेट स्मरण गर्दै पार्टी विभाजनको डिलमा पुगेको र त्यसबाट जोगाउने जिम्मेवारी नेतृत्वकै काँधमा रहेको बताएका थिए ।
त्यसको भोलिपल्ट आइतबार सभापति गगनकुमार थापा ले १४औं महाधिवेशनबाट निर्वाचित नेताहरूलाई समेटेर अघि बढ्न आफू तयार रहेको प्रतिक्रिया दिए ।
‘प्रजातान्त्रिक विचार समाज’ ले आयोजना गरेको कार्यक्रममा उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि केन्द्रीय कार्यसमिति तथा अन्य संरचनामा सम्मानजनक रूपमा समेट्ने प्रस्ताव अघि सारे ।
थापाले १४औं महाधिवेशनबाट निर्वाचित तर हाल समितिभित्र नरहेका नेताहरूलाई समेत जिम्मेवारी दिएर सँगै काम गर्न चाहेको बताएका थिए । साथै, निर्वाचन समिति, सदस्यता छानबिन समिति र अनुशासन समितिमा पनि बाहिर रहेका नेताहरूलाई समेटेर १५औं महाधिवेशनलाई पारदर्शी बनाउने उनको भनाइ थियो ।
उनले विशेष महाधिवेशनमा सहभागी भए वा नभएको आधारमा कसैमाथि विभेद नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
तर, निवर्तमान सभापति शेरबहादुर देउवा निकट नेताहरूले भने थापाको अभिव्यक्ति व्यवहारमा लागू नभएको आरोप लगाएका छन् । उनीहरूले सार्वजनिक रूपमा एकताको कुरा गरे पनि व्यक्तिगत रूपमा नेताहरू तान्ने र संगठनात्मक संरचना कमजोर बनाउने काम भइरहेको दाबी गरेका छन् ।
देउवानिकट नेता मीन विश्वकर्मा ले थापाको प्रस्ताव मञ्चमा आकर्षक देखिने भाषणभन्दा बढी केही नभएको टिप्पणी गरे । संवादबिनै सार्वजनिक रूपमा एकताको कुरा गर्नु प्रभावकारी नहुने उनको भनाइ थियो ।
उनले पार्टी एकताका लागि स्पष्ट प्रक्रिया, विश्वास र आपसी सहमति आवश्यक पर्ने बताए । सार्वजनिक अभिव्यक्तिमात्रैले पार्टीभित्रको दूरी घट्न नसक्ने उनको तर्क थियो ।
यस्तै, देउवानिकट नेता रामहरि खतिवडा ले सभापति थापाको प्रस्ताव सकारात्मक भए पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे । मिडियामा बोलेर मात्रै एकता सम्भव नहुने भन्दै उनले शीर्ष नेताहरूबीच प्रत्यक्ष संवाद आवश्यक रहेको बताए ।
खतिवडाले सभापति थापा, पूर्वकार्यवाहक सभापति खड्का तथा नेता शेखर कोइराला लगायतले सार्वजनिक अभिव्यक्तिभन्दा पनि मेलमिलाप र एकताको ठोस प्रक्रियामा अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले आरोप–प्रत्यारोपको राजनीति अन्त्य गरेर भावनात्मक र व्यवहारिक एकतामार्फत पार्टीलाई सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे ।
नेता मीन विश्वकर्माले सभापति थापा र पूर्णबहादुर खड्काबीच प्रत्यक्ष संवाद भए पार्टीमा मेलमिलाप सम्भव हुने बताए । उनका अनुसार खड्का र शेखर कोइराला दुवैको धारणा १४औं महाधिवेशनबाट निर्वाचित सबै नेताहरूलाई १५औं महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनुपर्ने भन्ने रहेको छ ।
उनले विशेष र नियमित महाधिवेशनको विवादका कारण पार्टीभित्र विभाजन बढेकाले आगामी महाधिवेशनसँग सम्बन्धित सबै संरचनामा सम्मानजनक सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।
साथै, ‘जरा अभियान’ का नाममा क्रियाशील सदस्य छनोटमार्फत नेता–कार्यकर्ता छुट्याउने काम रोक्नुपर्ने माग पनि खड्का–कोइराला पक्षको रहेको उनले बताए ।
विश्वकर्माले पार्टी एकताका लागि ल्याइएका प्रस्ताव सकारात्मक भए पनि व्यवहारमा कार्यान्वयन नहुँदा झन् असन्तुष्टि बढेको टिप्पणी गरे । उनले व्यक्तिगत रूपमा नेताहरूलाई तानेर जिम्मेवारी दिने शैलीले पार्टी एकतालाई कमजोर बनाएको आरोप लगाए ।
उता, नेता रामहरि खतिवडा ले अहिले कांग्रेसभित्रको विवाद समाधानका लागि एकता नै प्रमुख विकल्प भएको बताए । जरा अभियान वा अन्य अभियानभन्दा पनि भावनात्मक र व्यवहारिक एकता आवश्यक रहेको उनको भनाइ थियो ।
उनले सबै नेताहरू एक ठाउँमा बसेर खुला छलफल गर्नुपर्ने आवश्यकता औंल्याए । पार्टी र राष्ट्रको हितका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने उनको धारणा थियो ।
खतिवडाले सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा ले पूर्णबहादुर खड्का र शेखर कोइराला सँग बन्द कोठामा बसेर गम्भीर छलफल गर्नुपर्ने सुझावसमेत दिए ।
उनका अनुसार पार्टी एकताको स्पष्ट सन्देशसहित १५औं महाधिवेशनतर्फ अघि बढ्नु नै अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो ।
